चुनावी मैदानमा शीर्ष नेता : कहाँ कसलाई कसको चुनौती ?
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं, २४ असोज
मुख्य दलका शीर्ष नेताहरुमध्ये धेरैले पुरानै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन् । कतिपयले भने नयाँ ठाउँ रोजेका छन् । शीर्ष नेतामध्ये केहीलाई आफ्नै पार्टी र गठबन्धनको चुनौती छ भने धेरैलाई नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ ।
शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । यो क्षेत्रमा उहाँले ०४८ सालदेखि निरन्तर चुनाव जित्दै आउनुभएको छ । यो क्षेत्रमा कांग्रेसका पूर्वजिल्ला सभापति कर्ण मल्लले वीपी कांग्रेसबाट मनोनयन दर्ता गराउनुभएको छ । मल्ललाई एमालेको समर्थन छ । यस्तै सागर ढकालले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
केपी शर्मा ओली
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालि पनि झापा-५ बाटै उम्मेदवारी दिनुभएको छ । यो क्षेत्रमा कांग्रेसका खगेन्द्र अधिकारी र स्वतन्त्रबाट युग पाठकको पनि उम्मेदवारी परेको छ।
पुष्पकमल दाहाल प्रचण्ड
पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन-३ छाडेर गोरखा-२ बाट उम्मेदवारी दिनुभएको छ । यहाँ कांग्रेसकी माधवी भट्टले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यस्तै यो क्षेत्रमा एमालेबाट अब्दुस मियाँको पनि उम्मेदवारी परेको छ ।
माधवकुमार नेपाल
पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाण्डाै-२ छोडेर रौतहट-१ बाट उम्मेदवारी दिनुभएको छ । यो क्षेत्रमा एमालेबाट अजयकुमार गुप्ताको उम्मेदवारी परेको छ ।
झलनाथ खनाल
पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल यसपालि पनि इलाम-१ बाटै उम्मेदवार बन्नुभएको छ । त्यहाँ एमालेका महेश बस्नेतले उम्मेदवारी दिनुभएको छ ।
रामचन्द्र पौडेल
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ-१ बाट उम्मेदवारी दिनुभएको छ । यसपटक पनि त्यहाँ गोविन्दराज जोशीको स्वतन्त्र उम्मेदवारी परेको छ । यस क्षेत्रबाट एमालेले एकबहादुर रानालाई उम्मेदवार बनाएको छ ।
यस्तै, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाण्डौ-५ बाट उम्मेदवारी दिनुभएको छ । यहाँ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल तथा स्वतन्त्रका उम्मेदवार रञ्जु दर्शनाको पनि उम्मेदवारी परेको छ ।
झापा-३ मा कांग्रेसका कृष्ण सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ ।
काठमाण्डौ-४ मा पुरानै प्रतिस्पर्धी कांग्रेस महामन्त्री गगनकुमार थापा र एमालेका राजन भट्टराईको उम्मेदवारी परेको छ । कांग्रेसका अर्का महामन्त्री विश्व प्रकाश शर्मा र एमालेका अग्नि खरेलले झापा-१ बाट उम्मेदवारी दिएका छन् ।
दाङ-२ मा एमाले महासचिव शंकर पोखरेल र माओवादी केन्द्रकी नेतृ रेखा शर्मा तथा लमजुङमा माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको उम्मेदवारी परेको छ।
यस्तै,सर्लाही-२ मा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले उम्मेदवारी दिनुभएको छ । एमाले नेता जुलीकुमारी महतो धनुषा-३ बाट उम्मेदवार बनेपछि महतो सर्लाही जानुभएको हो । त्यहाँ गठबन्धनले यादवलाई समर्थन गरेको छ ।
सप्तरी–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत र लोसपाका नेता जयप्रकाश ठाकुर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले चितवन–१ बाट उम्मेदवारी दिनुभएको छ । त्यहाँ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका विश्व पौडेलको समेत उम्मेदवारी परेको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि