चासोक तङनाम (उधौली) पर्वको रौनक: किरात समुदायद्वारा ‘न्वागी’ पूजा
By anjana soni
५ महिना अगाडि
Comments: 0
आज देशभर किरात समुदायले आ-आफ्नो मौलिक परम्परा र उत्साहका साथ महान् चाड चासोक तङनाम अर्थात् उधौली पर्व मनाइरहेका छन्।
विशेषगरी पूर्वी पहाडमा बाहुल्य रहेका राई, लिम्बू, सुनुवार र याख्खा जातिले मङ्सिर पूर्णिमाको दिनलाई अन्नबाली भित्र्याएको खुसीयालीमा प्रकृति तथा पितृको पूजा गर्दै यो पर्व मनाउने चलन छ।
किरात समुदायअन्तर्गतका लिम्बू जातिले यो पर्वलाई चासोक तङनाम अर्थात् ‘न्वागी पर्व’ का रूपमा पुकार्छन्।
नयाँ अन्न चढाएर पूजा: प्रकृति पूजकका रूपमा चिनिने किरात समुदायले आजकै दिन वर्षभरि दुःख गरेर उब्जाएको नयाँ अन्न विधिवत् रूपमा पितृ र प्रकृतिलाई चढाएर न्वागी खाने गर्दछन्।
सांस्कृतिक कार्यक्रम: यो पर्वको अवसरमा पाँचथरसहित पूर्वका विभिन्न भूभागहरूमा मौलिक भेषभूषासहितका सांस्कृतिक कार्यक्रम तथा परम्परागत नृत्यहरू आयोजना गरिन्छन्।
पाँचथरको सदरमुकाम फिदिमस्थित पूजा स्थलहरूमा बिहीबार बिहानैदेखि विशेष चहलपहल देखिएको छ।
मुख्य आकर्षण: फिदिमको सुम्हालुङ मन्दिर, सिलौती, लव्रेकुटी लगायतका स्थलहरूमा पूजा–आराधना सहित नयाँ अन्न विधिवत् रूपमा चढाएर न्वागी पूजा गर्ने भक्तजनहरूको उल्लेख्य भीड लागेको छ।
आजकै दिन हिन्दु धर्मावलम्बीहरूले धान्य पूर्णिमा को संज्ञा दिँदै अन्न भण्डार तथा गोठ पूजा गर्ने चलन छ। यसरी एउटै तिथिमा दुई भिन्न समुदायले प्रकृति र अन्नको पूजा गरी खुसीयाली साटासाट गर्दा चाडको महत्ता अझ बढेको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि