वीरगंज–३० लालपर्सामा चौबीसै घण्टा प्रसूति सेवा उपलब्ध बर्थिङ सेन्टर सुरु
By Birgunj
४ महिना अगाडि
Comments: 0
वीरगंज – वीरगंज महानगरपालिकाले वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा गर्भवती महिलाका लागि २४ सै घण्टा प्रसूती सेवा उपलब्ध हुने गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । आइतबार आयोजित एक कार्यक्रमकाबीच महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नवनिर्मित बर्थिङ सेन्टरको समुद्घाटन गर्दै सेवाको औपचारिक शुभारम्भ गर्नुभएको हो ।
महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ग्रामीण भेगका वडाहरूमा स्वास्थ्य सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिँदै गाउँमै सुरक्षित प्रसूती सेवा उपलब्ध गराउने उद्देश्यका साथ यस्तो व्यवस्था मिलाएको जनाएको छ । यसका लागि स्वास्थ्य चौकीहरूको भौतिक संरचना स्तरोन्नति, सेवा विस्तार तथा आवश्यक जनशक्ति थप गर्दै आइरहेको महानगरपालिकाले जनाएको छ ।
यसै योजनाअनुसार वडा नम्बर ३० लालपर्सास्थित स्वास्थ्य चौकीमा आइतबारदेखि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको हो । यसअघि गएको शुक्रबार मात्रै वडा नम्बर १८ भवानीपुरस्थित स्वास्थ्य संस्थामा पनि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको थियो ।
बर्थिङ सेन्टरको समुद्घाटनसँगै अब लालपर्सास्थित स्वास्थ्य चौकीबाट २४ सै घण्टा निरन्तर प्रसूती सेवा उपलब्ध हुने महानगरपालिकाको जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राजु साहले जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य चौकीकै भवनबाट आवश्यक सम्पूर्ण सेवाहरू प्रदान गरिनेछ ।
बर्थिङ सेन्टर सञ्चालनका लागि तालिमप्राप्त दुई जना अतिरिक्त अनमीसहित आवश्यक जनशक्ति व्यवस्थापन गरिएको स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक अनिशकान्त कुशवाहाले जानकारी दिनुभयो । उहाँका अनुसार सो स्वास्थ्य चौकीमा पछिल्लो दुई महिनादेखि जनस्वास्थ्य प्रयोगशाला पनि सञ्चालनमा रहेको छ, जहाँ हाल ३७ प्रकारका विभिन्न स्वास्थ्य परीक्षण सेवा प्रदान हुँदै आएका छन् ।
यसअघि नै वीरगंज महानगरपालिकाका वडा नम्बर २८ बगही तथा वडा नम्बर २१ लिपनीस्थित स्वास्थ्य चौकीमा पनि बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् ।
आइतबार आयोजित लालपर्सा बर्थिङ सेन्टर समुद्घाटन कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्ण, वडा नम्बर ३० का वडाध्यक्ष मनोजकुमार यादव, स्वास्थ्य चौकीका इन्चार्ज मेवालाल ठाकुर लगायतको उपस्थिति रहेको थियो ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि