वीरगञ्ज – स्काईलाइन इन्फ्रा लिमिटेड वीरगञ्जले मिति २०८२ चैत १९ गते पत्रकार सम्मेलन गर्दै हाल केही अनलाइन मिडियामा प्रकाशित ‘महानगरको भर्याङ बनेको १ अर्ब ४३ करोडको जग्गा हडप्ने खेल’ शीर्षकको समाचारप्रति कडा आपत्ति जनाएको छ। कम्पनीले विज्ञप्ति जारी गर्दै उक्त समाचार पूर्ण रूपमा झुठो, प्रायोजित र कम्पनीको छवि ध्वस्त पार्ने उद्देश्यसहित लेखिएको दाबी गरेको छ।
कम्पनीका अनुसार उखोज पत्रकारिता केन्द्रको सहकार्यमा पत्रकार जियालाल साहको नामबाट ‘उकालो’ अनलाइनमा प्रकाशित सो सामग्री तथा त्यसपछि अन्य अनलाइनहरूमा साभार समाचारहरू कुनै यथार्थ तथ्य पत्ता नलगी, कम्पनीको धारणा नलिई, उपलब्ध प्रमाणहरू नहेरी प्रकाशित गरिएको हो। स्काईलाइन इन्फ्राले यस्तो एकपक्षीय र तथ्यहीन सामग्री पत्रकार आचारसंहिताको गम्भीर उल्लंघन भएको आरोप लगाएको छ।
कम्पनीले प्रकाशित समाचारमा अर्धन्यायिक निकाय– भूमिसुधार तथा मालपोत कार्यालयमा विचाराधीन विषयलाई प्रभावित पार्ने उद्देश्य देखिएको उल्लेख गरेको छ। साथै, समाचारमा सम्बन्धित नभएका व्यक्तिहरूको नाम समेत जोडिनु कुत्सित मनसायका संकेत भएको स्काईलाइनको भनाइ छ।
स्काईलाइन इन्फ्रा लिमिटेडले आफूले कसैको जग्गा हड्पेको नभई कानून अनुसार खरिद–विक्री प्रक्रिया पूरा गरी मालपोत कार्यालय पर्साबाट रजिष्ट्रेशन गराएको तथा वीरगञ्ज महानगरपालिकाबाट नक्शा पास लिएर भवन निर्माण गरी प्रयोगमा ल्याएको तथ्य सार्वजनिक गरेको छ।
कम्पनीले सो सम्पूर्ण प्रक्रियाका ठोस प्रमाण सम्बन्धित निकायमा पेश गरिसकेको तथा विगतमा केही व्यक्तिले उठाएको विवाद अदालतबाटै निरूपित भइसकेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा कम्पनीले सबै पक्षलाई भविष्यमा एकपक्षीय, झुठा र असत्य समाचार प्रकाशन–प्रसारण नगर्न आग्रह गर्दै, यदि पुनः यस्ता गतिविधि दोहोरिएमा कानुनी कारबाहीमा जाने चेतावनी दिएको छ।












