वीरगंज — वीरगंज महानगरपालिका–१३ स्थित साउथजोन माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८३ का लागि चयन भएका नयाँ विद्यार्थी नेतृत्वको शपथ ग्रहण तथा वार्षिक पुरस्कार वितरण कार्यक्रम मंगलबार भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयका प्रिन्सिपल सरोजप्रसाद चौधरीको सभापतित्व तथा वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा हेड गर्ल, हेड ब्वाय, हाउस क्याप्टेन, खेलकुद संयोजक, अनुशासन प्रमुख लगायत विद्यार्थी प्रतिनिधिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लामिछानेले दीप प्रज्वलन गरी गरेका थिए। उनले विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गर्दै नवनिर्वाचित विद्यार्थी नेतृत्वलाई बधाई तथा शुभकामना व्यक्त गरे।
उनले विद्यार्थी नेतृत्वलाई जिम्मेवारीप्रति इमानदार, अनुशासित र कर्तव्यनिष्ठ बन्न आग्रह गर्दै भने, “जिम्मेवारी प्राप्त गर्नु मात्र होइन, त्यसलाई सफलतापूर्वक निर्वाह गर्नु नै वास्तविक उपलब्धि हो।”
विद्यालयका प्रिन्सिपल सरोजप्रसाद चौधरीले विद्यालयले प्रत्येक वर्ष शैक्षिक, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दै आएको जानकारी दिए। उनले विद्यालयले विभिन्न वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै समावेशी शिक्षामा जोड दिँदै आएको पनि बताए।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा, वरिष्ठ उपाध्यक्ष सुशीला शाह, उपाध्यक्ष वीरेन्द्र यादव, वडा नं. १३ का वडाध्यक्ष हिरा गिरी, प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, सचिव अमित आलोक लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
अतिथिहरूले विद्यालयले विद्यार्थी नेतृत्व विकास, अनुशासन र व्यक्तित्व निर्माणमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
सो अवसरमा नवनिर्वाचित विद्यार्थी नेतृत्व तथा विभिन्न क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र र शिल्ड प्रदान गरिएको थियो।
विद्यालयले अनलाइन मतदान प्रणालीमार्फत विद्यार्थी नेतृत्व चयन गरेको जनाएको छ। कार्यक्रममा स्वागत मन्तव्य शिक्षिका प्रमिला श्रेष्ठले गरेकी थिइन् भने सहजीकरण सहायक प्रिन्सिपल अशोक संग्रौलाले गरेका थिए।












