पर्सा क्षेत्र १ मा चुनावी दौड रोमाञ्चक : जनमतका ओमप्रकाश सर्राफ अग्रस्थानमा, अन्य पछ्याउँदै, काँग्रेस चुनावी दौड बाहिर
By Birgunj
२ महिना अगाडि
Comments: 0
वीरगंज – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल तातेको छ । मुख्य प्रतिस्पर्धा जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सर्राफ र नेकपा एमालेका उम्मेदवार प्रदीप यादवबीच हुने आँकलन गरिएको छ । यद्यपी चुनावी गतिविधि र जनसमर्थनको आधारमा सर्राफ हाल अग्रस्थानमा देखिएका छन् भने नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले पछ्याइरहेको स्थानीय विश्लेषकहरूको भनाई छ ।
राजनीतिक वृत्तमा सक्रिय सर्राफ मधेश आन्दोलनकालदेखि नै मधेशका मुद्दामा निरन्तर आवाज उठाउँदै आएका नेता मानिन्छन् । मधेशको पहिचान, अधिकार र समृद्धिका सवालमा सडकदेखि सदनसम्म संघर्ष गर्ने प्रतिबद्धताले उनलाई क्षेत्रका मतदातामाझ छुट्टै पहिचान दिएको छ ।
विशेषगरी युवाहरूकाबीच उनको लोकप्रियता उल्लेख्य देखिन्छ । बेरोजगारी समस्यालाई केन्द्रमा राख्दै उनले विभिन्न स्वरोजगारमूलक तालिम कार्यक्रम सञ्चालन गराएका थिए । ती तालिममार्फत सयौँ युवाले सीप सिकेर आफ्नै व्यवसाय सुरु गरेको दाबी गरिएको छ । ‘रोजगारी सिर्जना नै समृद्धिको आधार हो’ भन्ने नारासहित उनले अघि सारेका कार्यक्रमले युवा मतदाताको झुकाव आफ्नो पक्षमा पार्न सफल भएको विश्लेषण गरिन्छ ।
स्वास्थ्य क्षेत्र सुधारका सवालमा पनि सर्राफ सक्रिय रहँदै आएका छन् । वीरगंजस्थित नारायणी अस्पतालको सेवा सुधारका लागि उनले पटक पटक आवाज उठाउँदै आन्दोलनसमेत गरेका छन् । अस्पतालको सेवा, पूर्वाधार र व्यवस्थापन सुधारको माग गर्दै गरिएको दबाबपछि केही सकारात्मक परिवर्तन देखिएको भन्दै उनका समर्थकहरू दाबी गर्छन् ।
त्यसैगरी पर्साको ऐतिहासिक सिर्सिया नदी संरक्षण अभियानमा पनि उनी लामो समयदेखि संलग्न छन् । औद्योगिक प्रदूषण र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण संकटमा परेको सिर्सिया नदी जोगाउन उनले जनचेतनामूलक अभियानदेखि सम्बन्धित निकायमा दबाब सिर्जना गर्ने काम गर्दै आएका छन् । वातावरण संरक्षणप्रति देखाएको सक्रियताले नागरिक समाजका विभिन्न तहबाट समर्थन बढेको देखिन्छ ।
चुनावी मैदानमा अन्य दलका उम्मेदवारहरू पनि सक्रिय छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सि.ए. अजय चौरसिया तेश्रो स्थानमा रहेको आँकलन गरिएको छ भने जनता समाजवादी पार्टीका रामनरेश यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि पन्त क्रमशः चौथो र पाँचौँ स्थानमा रहेको आँकलन गरिएको छ । यसैगरि नेपाली काँग्रेसका अनिल रुङ्गटा चुनावी दौड बाहिर रहेको स्थानीयहरुको बुझाई छ ।
यद्यपि अन्तिम परिणाम मतदाताको निर्णयमा निर्भर रहनेछ, हालसम्मको जनसम्पर्क, घरदैलो अभियान र सामाजिक सक्रियताका आधारमा ओमप्रकाश सर्राफ पर्सा क्षेत्र नं. १ को निर्वाचन दौडमा अग्रस्थानमा रहेको सन्देश स्पष्ट देखिएको छ । चुनाव नजिकिँदै जाँदा प्रतिस्पर्धा अझै रोचक बन्ने अपेक्षा गरिएको छ ।
पर्सा जिल्ला अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा ९९ हजारभन्दा बढी मतदाता रहेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली अद्यावधिक गरिएपछि क्षेत्र नं. १ मा कुल ९९ हजार ६३८ मतदाता कायम भएका छन् । उपलब्ध तथ्यांकअनुसार यस क्षेत्रमा पुरुष मतदाता ५० हजार ४०६ जना, महिला मतदाता ३९ हजार २३० जना तथा अन्य लिङ्गका २ जना मतदाता रहेका छन् ।
निर्वाचन तयारीसँगै मतदान स्थल र केन्द्रको व्यवस्थापन कार्यसमेत अघि बढाइएको छ । क्षेत्र नं. १ मा ३४ मतदान स्थल र १०३ मतदान केन्द्र निर्धारण गरिएको छ । पर्सा क्षेत्र नं. १ मा यसपटक मतदाता संख्या उल्लेखनीय रहेकोले प्रतिस्पर्धा पनि रोचक हुने आँकलन गरिएको छ ।
२ महिना अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि