कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्याे
By Anusha sijapati
३ वर्ष अगाडि
Comments: 0
काठमाण्डाै – कोरोना सङ्क्रमण सामान्य बन्दै गएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ। मुस्ताङको सदरमुकाम जोमसोम मात्रै नभइ माथिल्लो मुस्ताङ, कागबेनी, मुक्तिनाथ मन्दिर दर्शन गर्ने आन्तरिकसँगै विदेशी पर्यटकको सङ्ख्या बढेको हो ।
पर्यटकको आगमन बढेसँगै विगत तीन वर्षदेखि सुनसान अवस्थामा रहेका यहाँका होटल भरिभराउ छन् । असोजदेखि कात्तिकसम्म मुस्ताङ घुम्ने उपयुक्त समय भएकाले आन्तरिक र विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको हो।
जोमसोममा रहेको एमोनाइट होटलकी सञ्चालक लक्ष्मी शेरचनले यसपालि पर्यटकको आगमन बढेको बताउनुभयो । विशेषगरी मुक्तिनाथ मन्दिर दर्शन गर्न आन्तरिकसँगै भारतीय पर्यटकले होटल भरिने गरेको र मासिक १० देखि १५ लाख रुपैयाँको कारोबार हुने गरेको उहाँले जानकारी दिनुभयो।
मुक्तिनाथकै होटल नरलिङका सञ्चालक तेन्जिङ गुरुङले यतिबेला सबैभन्दा धेरै भारतीय पर्यटक मन्दिर दर्शन गर्न पुग्ने गरेका बताउनुुभयो । मुक्तिनाथमा दर्शन गरेर फर्किने हुँदा आफ्नो होटलमा थोरै पर्यटक मात्र बास बस्ने र खाना खाएर जाने गरेको उहाँले जानकारी दिनुभयो।
दिनमा एक सयदेखि दुई सय जना सीमानाकासम्म पुग्ने गरेको उहाँले जानकारी दिनुभयो । माथिल्लो मुस्ताङमा धेरै चिसो हुने हुँदा कतिपय पर्यटक मुक्तिनाथ दर्शन गरेर फर्कने गरेको उहाँले जानकारी दिनुभयो । यस्तै, लोमान्थाङमा रहेको मिस्किट होम्स् एन्ड कफी सपका सञ्चालक करचुन गुरुङले सिजन भएकाले पर्यटकको सङ्ख्या बढेको जानकारी दिनुभयो । दैनिक ५० देखि ६० जनालाई खाना खुवाउने गरेको उहाँले जानकारी दिनुभयो।
पर्यटकको चहलपहल बढेसँगै लामो समयदेखि बन्द रहेका होटल व्यवसाय पुरानै लयमा फर्कन लागेका व्यवसायी निर्मला शेरचनले बताउनुभयो । मुस्ताङ जाने र फर्कने पर्यटकको चाप बढेपछि म्याग्दीको बेनी, गलेश्वर, भुरुङ तातोपानी, पोखरेबगर, दाना क्षेत्रका होटलमा चहलपहल बढ्न थालेको बेनीका होटल सञ्चालक अमर कार्कीले जानकारी दिनुभयो।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि