काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २५औँ कार्यसमितिका लागि भएको निर्वाचनमा युवा पर्यटन व्यवसायी दिनेश मैनाली कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।
भरतजंग पाण्डेको नेतृत्वमा रहेको **‘भरत एण्ड टिम’**बाट उम्मेदवारी दिएका मैनालीले १८९ मत प्राप्त गर्दै कार्यसमिति सदस्यमा निर्वाचित भएका हुन्। नाट्टाको ५९औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।
काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ का स्थायी बासिन्दा मैनाली शुभम् ट्राभल्स एण्ड टुर्सका सञ्चालक हुन्। उनी विगत एक दशकदेखि पर्यटन तथा ट्राभल व्यवसायमा सक्रिय रहँदै आएका छन्।
पर्यटन क्षेत्रमा युवा पुस्ताको प्रतिनिधित्व गर्दै आएका मैनालीले व्यवसायीका समस्या, पर्यटन क्षेत्रका चुनौती तथा सम्भावनालाई नजिकबाट बुझ्दै आएका छन्। नाट्टाको कार्यसमिति सदस्यका रूपमा निर्वाचित भएपछि उनले पर्यटन व्यवसायीको हकहित, संस्थागत सुधार तथा व्यवसायमैत्री नीतिका लागि प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
उम्मेदवारी घोषणा गर्ने क्रममा मैनालीले ‘सशक्त नाट्टा, समृद्ध पर्यटन : सदस्यसँगै, सदस्यका लागि’ भन्ने नारालाई प्राथमिकतामा राख्दै सदस्यका समस्या समाधान, संस्थागत सुधार र नयाँ पुस्ताका पर्यटन व्यवसायीको सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
निर्वाचनमा कार्यसमिति सदस्यतर्फ स्मारिका थापा २११ मतसहित सबैभन्दा बढी मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। त्यस्तै प्रकाश लोहनीले २१०, नवीन गुरुङले २०५, दिनेश मैनालीले १८९, सुमनलाल श्रेष्ठले १८८, स्वस्तिका प्रधानले १८४, संकेत दाहालले १६५ र विभास पौडेलले १५८ मत प्राप्त गरी कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।
त्यसैगरी, नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे १८८ मतसहित निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सविता केसी भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा डिकी शेर्पा तथा सह–सचिव/सह–कोषाध्यक्षमा जीवन कोइराला निर्वाचित भएका छन्।
मैनालीको विजयसँगै नाट्टाको नयाँ कार्यसमितिमा युवा पर्यटन व्यवसायीको प्रतिनिधित्व थप बलियो भएको छ। आगामी कार्यकालमा नयाँ नेतृत्वले पर्यटन प्रवर्द्धनसँगै सदस्यका व्यावसायिक समस्या समाधान, संस्थागत सुधार र नाट्टालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।












