• Home
  • खेलकुद
  • माइकल जोर्डनको ‘लास्ट डान्स’ जर्सी कीर्तिमानी १ करोड ४० लाख डलरमा बिक्री
Image

माइकल जोर्डनको ‘लास्ट डान्स’ जर्सी कीर्तिमानी १ करोड ४० लाख डलरमा बिक्री

काठमाडौँ, २८ असोज । सन् १९९८ को एनबीए फाइनलको ‘लास्ट डान्स’ शृङ्खलाअन्तर्गत दोस्रो खेलमा माइकल जोर्डनले लगाएको जर्सी १ करोड ४० लाख अमेरिकी डलरको कीर्तिमानी मूल्यमा बिक्री भएको छ।

हन्ट अक्सन्सका अनुसार खेलका क्रममा लगाइएको र हस्ताक्षरसमेत रहेको उक्त ‘शिकागो बुल्स’ जर्सी मियामीका घरजग्गा व्यवसायी रोन फर्मनले निजी बिक्री प्रक्रियामार्फत खरिद गरेका हुन्। यो बास्केटबलसँग सम्बन्धित कुनै पनि स्मृति सामग्रीका लागि हालसम्म तिरिएको सबैभन्दा उच्च मूल्य हो।

लिलामी संस्थाका अनुसार हालै बिक्री भएको जोर्डनको यो जर्सी खेलका क्रममा खेलाडीले लगाएका जर्सीमध्ये बिक्री मूल्यका आधारमा दोस्रो सबैभन्दा महँगो बनेको छ। सन् १९३२ को ‘वर्ल्ड सिरिज’ को तेस्रो खेलमा बेब रुथले लगाएको ‘न्युयोर्क यान्कीज’ को जर्सी सन् २०२४ मा २ करोड ४१ लाख २० हजार डलरमा बिक्री भएको थियो। उक्त खेलमा रुथले होम रन प्रहार गर्नुअघि नै त्यसको घोषणा गरेका थिए।

जोर्डन र ‘बुल्स’ टोलीले सन् १९९८ को च्याम्पियनसिप जित्ने क्रममा ‘युटा ज्याज’ लाई छ खेलमा पराजित गरेका थिए। शिकागोका लागि उनको यो छैटौँ तथा अन्तिम उपाधि थियो। सन् १९९८ जुन ५ मा साल्ट लेक सिटीमा खेलिएको दोस्रो खेलमा टोलीका स्टार गार्ड जोर्डनको उत्कृष्ट प्रदर्शनका कारण शिकागोले सिरिज १–१ को बराबरीमा ल्याउन सफल भएको थियो।

९३–८८ को जितमा जोर्डनले ३७ अंक, पाँच रिबाउन्ड र तीन असिस्टको योगदान दिएका थिए। त्यसको नौ दिनपछि उनले आफ्नो करियरको छैटौँ तथा अन्तिम ‘फाइनल्स मोस्ट भ्यालुएबल प्लेयर’ (एमभीपी) अवार्ड जितेका थिए। एनबीए इतिहासमा उनले जितेको यो अवार्डको संख्या अन्य कुनै पनि खेलाडीको भन्दा दुई बढी हो। सन् २०२० मा सार्वजनिक भएको चर्चित वृत्तचित्र ‘द लास्ट डान्स’ पनि सन् १९९७–९८ को ‘बुल्स’ सिजनमा केन्द्रित थियो।

हन्ट अक्सन्सका अध्यक्ष डेभिड हन्टले विज्ञप्तिमार्फत जोर्डनको जर्सीले कीर्तिमानी मूल्य प्राप्त गर्नुले खेलकुद र लोकप्रिय संस्कृतिमा उनको महत्त्व पुनः पुष्टि गरेको बताएका छन्। उनका अनुसार उक्त जर्सी जोर्डनको शानदार करियरको अन्त्यतिरको ‘लास्ट डान्स’ सिजनअन्तर्गत एनबीए फाइनल्सको महत्त्वपूर्ण र यादगार क्षणसँग सम्बन्धित छ।

हन्टले खेलकुदसँग सम्बन्धित स्मृति सामग्रीको बजारमा जोर्डनको महत्त्व लामो समयदेखि स्थापित रहेको उल्लेख गर्दै यो क्षेत्र कलाका उत्कृष्ट तथा विशिष्ट कृतिहरूका लागि मात्र सीमित मानिने उच्च मूल्यका सम्पत्तिको बजारको स्तरमा पुगेको बताए। उनले उक्त ऐतिहासिक बिक्री प्रक्रियामा सहजीकरण गर्न पाएकोमा खुसी व्यक्त गरे।

सन् १९९८ को फाइनलमा प्रयोग भएको जोर्डनको जर्सी १ करोड डलरभन्दा बढी मूल्यमा बिक्री भएको यो कम्तीमा तेस्रो घटना हो। सन् २०२२ मा पहिलो खेलमा उनले लगाएको जर्सी लिलामीमा करिब १ करोड १ लाख डलरमा बिक्री भएको थियो। त्यस्तै, गत सेप्टेम्बरमा तेस्रो खेलमा लगाएको जर्सी करिब १ करोड २३ लाख डलरमा बिक्री भएको थियो।

लिलामी संस्थाद्वारा जारी विज्ञप्तिमा खरिदकर्ता फर्मनले माइकल जोर्डन विश्वभर प्रशंसित र असाधारण प्रतिभा भएका खेलाडी रहेको बताउँदै यो खरिदलाई लिएर उत्साहित भएको बताएका छन्।

हन्टका अनुसार फर्मनले खरिद गरेको जर्सी सन् २००३ मा एक निजी सङ्कलकले ‘बुल्स’ टोलीबाट किनेका थिए। जर्सीको स्वामित्व हस्तान्तरणको शृङ्खला निकै सीमित रहेको उल्लेख गर्दै हन्टले मूल खरिदकर्ताबाट यो जर्सी केवल एक पटक मात्र अर्को व्यक्तिको स्वामित्वमा पुगेको बताए।

सन् १९९८ को फाइनल र ‘बुल्स’ टोलीसँग जोर्डनको अन्तिम सिजनसँग सम्बन्धित सामग्री सङ्कलकहरूका लागि विशेष चासोको विषय बन्दै आएका छन्। सन् २०२३ मा ‘ज्याज’ टोलीविरुद्धको दोस्रो खेलमा उनले लगाएका ‘एयर जोर्डन’ जुत्ता सोथेबीजमार्फत २२ लाख डलरमा बिक्री भएका थिए। त्यसबेला उक्त बिक्रीलाई सबैभन्दा महँगो मूल्यमा बिक्री भएको स्निकर्सको नयाँ विश्व कीर्तिमानका रूपमा चर्चा गरिएको थियो।

Related Posts

राेहित पाैडेलकाे शतकमा ओमानलाई नेपालले दियाे २३६ रनकाे लक्ष्य

रोहित पौडेलको शतकमा क्यानडालाई नेपालको २३६ रनको लक्ष्य आईसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्ध नेपालले २३६ रनको लक्ष्य दिएको…

ByByanjana soni ३ दिन अगाडि

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni २ महिना अगाडि

एनपिएल: प्लेअफबाट बाहिरिएका जनकपुर र कर्णाली आज भिड्दै, प्रतिष्ठाको लडाईं

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को लिग चरणको अन्तिम खेल आज हुँदैछ। प्रतियोगिताको प्लेअफ दौडबाट बाहिरिसकेका…

ByByanjana soni १० महिना अगाडि

एनपीएल: लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच आज निर्णायक भिडन्त

काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज (शुक्रबार) लुम्बिनी लायन्स र जनकपुर बोल्ट्सबीच महत्त्वपूर्ण प्रतिस्पर्धा हुँदैछ।…

ByByanjana soni १० महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *