उज्यालो नेपाल पार्टी पर्साद्वारा बङ्गलादेशमा हिन्दुमाथि भएको हिंसाको कडा विरोध
By Birgunj
४ महिना अगाडि
Comments: 0
वीरगंज – कुलमान घिसिङको संरक्षकत्वमा गठित उज्यालो नेपाल पार्टी पर्सा जिल्ला कार्यसमितिले बङ्गलादेशमा हिन्दु समुदायका व्यक्तिमाथि भएको क्रूर हिंसा तथा दमनको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।
पार्टीका पर्सा जिल्ला संयोजक रामबाबु यादवले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा उक्त अमानवीय घटनामा संलग्न दोषीहरूलाई तत्काल कडा कारबाही गर्न माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “बङ्गलादेशमा हालै हिन्दु युवकमाथि भएको बर्बर हिंसा र दमनले हामी सबैलाई स्तब्ध बनाएको छ । यस्ता घटनाले मानव अधिकार, मानवीय मर्यादा तथा सामाजिक सद्भावमाथि गहिरो आघात पुर्याएको छ । उज्यालो नेपाल पार्टी मानवतावाद, न्याय र समानताको पक्षमा दृढतापूर्वक उभिएको राजनीतिक शक्ति हो । कुनै पनि बहानामा हुने हिंसा, अन्याय वा दमनलाई हामी कुनै हालतमा स्वीकार गर्दैनौँ ।”
संयोजक यादवले पीडित परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै पार्टी पीडितहरूसँग ऐक्यबद्ध रहेको बताए । उनले दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनी दायरामा ल्याई कडा सजाय दिन बङ्गलादेशका सम्बन्धित निकायसँग जोडदार माग गरे ।
उज्यालो नेपाल पार्टीले उक्त घटनालाई मानव सभ्यतामाथिको कलङ्कको रूपमा व्याख्या गर्दै विश्व समुदायको समेत ध्यानाकर्षण गराएको छ । साथै, पार्टीले नेपालमा सबै समुदायबीच आपसी सद्भाव, सहिष्णुता र सामाजिक एकता कायम राख्न आफू प्रतिबद्ध रहेको जनाएको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि