शिक्षासँगै नैतिकता र सामाजिक उत्तरदायित्वको सन्देश बोकेको डेसिमल कलेजको फ्रेसर्स सम्पन्न
By Birgunj
४ महिना अगाडि
Comments: 0
वीरगञ्ज – डेसिमल पब्लिक कलेज, वीरगञ्जले नयाँ भर्ना भएका विद्यार्थीहरूको स्वागतार्थ ‘फ्रेसर्स मिट एण्ड ग्रीट’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। शनिबार क्लार्क्स रिसोर्ट, वीरगञ्जमा आयोजित उक्त कार्यक्रम कक्षा–१२, ब्याच २०८२ का विद्यार्थीहरूको आयोजनामा सम्पन्न भएको हो। कलेजका संस्थापक अध्यक्ष सन्नि दुबेको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने रक्तसञ्चार सेवा केन्द्र पर्साका प्रमुख सौरभ राज पाण्डे विशिष्ट अतिथिका रूपमा उपस्थित हुनु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रजिअ भोला दाहालले शैक्षिक जीवन केवल किताबी ज्ञानमा सीमित नहुनु पर्ने बताउँदै अनुशासन, नैतिकता र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यार्थी जीवन नै भविष्य निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभयो। सभापति तथा कलेजका संस्थापक अध्यक्ष सन्नि दुबेले डेसिमल पब्लिक कलेजले गुणस्तरीय शिक्षा, व्यवहारिक ज्ञान र विद्यार्थीको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो। नयाँ विद्यार्थीहरूका लागि सुरक्षित, प्रेरणादायी र प्रतिस्पर्धी शैक्षिक वातावरण प्रदान गर्नु कलेजको मुख्य उद्देश्य रहेको उहाँको भनाइ थियो।
त्यसैगरी, विशिष्ट अतिथि सौरभ राज पाण्डेले शिक्षासँगै सामाजिक सेवाको महत्व औँल्याउँदै युवाहरूलाई मानवीय मूल्य र सेवाभावमा सक्रिय हुन आग्रह गर्नुभयो। शिक्षित युवाको सक्रिय सहभागिताबाट मात्र समाजमा सकारात्मक परिवर्तन सम्भव हुने उहाँले बताउनुभयो। कार्यक्रममा शैक्षिक तथा प्रेरणादायी भनाइ, मनोरञ्जनात्मक प्रस्तुति र आपसी परिचयात्मक गतिविधिहरू समावेश गरिएको थियो, जसले नयाँ विद्यार्थीहरूलाई उत्साहित र आत्मीय बनाएको थियो।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि