काठमाडौं, फागुन ४ गते । शासन पद्धति जीवन पद्धतिसँग जोडिनुपर्ने गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बताएका छन् । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा आज पोखरामा आयोजित विशेष समारोहको उद्घाटन गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थासँगै स्थापित प्रदेश केवल शासन प्रणालीका रुपमा मात्र नभइ नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित हुनुपर्ने बताएका छन् ।
“सङ्घर्षका बेला जनताका सामु तपाईँहामीले गरेका प्रतिबद्धता पूरा गर्ने गरी शासन पद्धतिलाई अघि बढाउनसक्ने हो भने मात्र आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने छन्”, उनले भने आम नागरिकले पटक–पटक फेरिने मुद्दा र नारा होइन परिणाममा उपलब्धि खोजिरहेको बताउँदै उनले अबका योजना परिणाम दिने गरी बन्ने अपेक्षा गरेका छन् ।
यसअघि निमित्त प्रदेश सरकारका माध्यमबाट जनस्तरमा धेरै कार्य भएको उल्लेख गर्दै उनले जनताको घर दैलोमा प्रदेश सरकारका माध्यमबाट हुने विकास र समृद्धिका कार्यको राम्रो सुरुआत भएको र समृद्ध गण्डकी प्रदेश बनाउन धेरै कार्य गर्न अझै बाँकी नै रहेको बताएका छन् ।
जनताले प्रदेश सरकारका माध्यमबाट जुन उपलब्धिको आशा गरेका छन् त्यो पूरा गर्न प्रदेश सरकार अझै गम्भीर भएर लाग्न जरुरी भएको बताउँदै प्रदेश प्रमुख गुरुङले सरकारले विभिन्न राजनीतिक दल र आम नागरिकको भावनालाई समेटेर साझा बाटोमा हिँड्नुपर्ने आवश्यकता औंँल्याएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले केन्द्र आश्रित प्रदेश अन्त्य गर्ने कुरामा आफूले पहल गरेको बताएका छन् । संविधानको मर्मअनुसार अधिकारको प्रत्यायोजन नहुँदा समस्या आएको बताउँदै उहाँले प्रदेशको समृद्धि र विकासका लागि सत्तापक्ष, प्रतिपक्ष सबै एक ठाउँमा भएर अघि बढ्नुपर्ने बताए ।












