काठमाडौं, फागुन ८ गते । आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदै छ । सत्तागठबन्धन दलबीच अहिलेसम्म राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्नेमा सहमति जुट्न सकेको छैन् । सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउने अडान लिइरहेको छ भने अर्को सत्तारुढ ठुलो दल नेकपा एमालेले राष्ट्रपति आफूले पाउनुपर्ने अडान लिइरहेको छ ।
नेकपा एमालेले अहिलेको समीकरण जन्मँदै राष्ट्रपति एमालेको हुने भनेर लेखिएको बताउदै आएको छ । राष्ट्रपति को हुने भनेर पहिला नै तय गरिएको एमालेको दाबी छ । त्यस्तै नेपाली कांग्रेसले आफूले अघि सारेको उम्मेदवारलाई समर्थन गर्न माओवादीलाई आग्रह गरेको छ । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासहितको टोलीले प्रधानमन्त्री एवं माओवादी अध्यक्षलाई भेटेर राष्ट्रपतिमा आफूहरुलाई सघाउँन आग्रह गरेका हुन । नयाँ राष्ट्रपतिको उम्मेदवारी मनोनयनका लागि १३ गतेको समय तोकिएको छ ।












