काठमाडौं, फागुन १३ गते । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले आफूप्रति सबै दल र नागरिकको सद्भाव र सहानुभूति रहेको बताएका छन्। नेता पौडेल नेपाली कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार हुन । कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले सबैबाट प्रेरणा पाएको बताएका छन् ।
“मप्रति सबै पार्टीले सद्भाव राखेका छन्, सबै नागरिकले सद्भाव र सहानुभूति राखेका छन्,” पौडेलले भने।बैठकपछि बाहिरिने क्रममा पौडेलले आफूले पाउने जिम्मेवारीका विषयमा सचेत रहेको बताए। “मलाई आउन लागेको जिम्मेवारीप्रति म सचेत छु,” उनले भने।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिएका छन् । राष्ट्रपति निर्वाचनका लागि आजै उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुनेछ।












