काठमाडौं, फागुन १३ गते । राष्ट्रपति पदका लागि आफ्नो नाममा चर्चा हुन स्वाभाविक भए पनि आजको बैठकले रामचन्द्र पौडेलको नाम सर्वसम्मत रूपमा पारित गरेको नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘मेरो नाममा पनि चर्चा भएको थियो । चर्चा हुनु स्वाभाविक पनि थियो । तर आज हामीले सर्वसम्मत रूपमा राष्ट्रपतिमा रामचन्द्र पौडेलको नाम पारित गरेका छौँ । सभापतिले उहाँको नाम प्रस्ताव गरेपछि कुनै डिस्कसन नै भएन ।’उनले पौडेललाई आठ दलले समर्थन गर्ने बताउँदै उनको जीत सुनिश्चित गरेको बताए । राष्ट्रपति निर्वाचनका लागि आजै उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुनेछ।












