काठमाडौं, चैत ५ गते । मुस्ताङमा चिसो घट्दै जान थालेसँगै पर्यटकको आगमन बढेको छ । चिसोका कारण झन्डै दुई महिनाभन्दा बढी सुनसान बनेको जिल्लामा फागुनको तेस्रो सातापछि पर्यटकको आगमन बढेको ल्होघेकर दामोदरकुण्ड गाउँपालिका–३ का वडाध्यक्ष भब्याङतेन्जिङ गुरुङले जानकारी दिएका छन् । चिसो छल्न झरेका मुस्ताङीहरू फागुनको तेस्रो सातापछि विस्तारै फर्कन थालेका छन् ।
फागुनको २३, २४ गतेतिर हिमपात भएपछि पर्यटक हिउँमा रमाउनका लागि पनि आउने गरेका छन् । मुस्ताङको यात्रा तय गरेका पर्यटक कतिपय मुक्तिनाथसम्म पुग्ने गर्दछन् भने कतिपय नेपाल र चिनबीचको कोरला नाकासम्म पुगेर फर्कन्छन् । भौगालिक विविधताले सम्पन्न मुस्ताङ धार्मिक पर्यटनसँगै पदयात्रा पर्यटनको आकर्षक गन्तव्य हो । यहाँको भौगोलिक विविधताले जो–कोहीलाई लोभ्याउने गरेको छ ।
पछिल्ला समयमा पर्यटक लक्षित पूर्वाधार निर्माणको क्रम पनि बढेसँगै यो स्वदेशी एवं विदेशी पर्यटकको रोजाइमा परेको छ । आजभन्दा चार दशक अघिसम्म मुक्तिनाथ मन्दिरमा जाने यात्रुले होटल अभावमा त्यहाँका पार्टी पौवामा बस्नुपर्ने बाध्यता थियो । अहिले भने मुस्ताङमाथि लेतेबाटै मुक्तिनाथ हुँदै लोमन्थाङसम्म सुविधासम्पन्न होटेल बनिसकेका छन् ।
विगतको मुस्ताङमा आउँदा पौवा र ठाँटी, भेँडीगोठमा बस्नुपर्ने बाध्यतालाई सुविधासम्पन्न होटलले अन्त्य गरिदिएको अर्का स्थानीय रामकुमार थकालीले बताउनुभयो । पछिल्ला समयमा मुस्ताङका ठिनी, स्याङलगायतका गाउँमा स्थानीयले घरबास पनि सञ्चालनमा ल्याएका छन् ।
उपल्लो मुस्ताङको ल्होमन्थाङमा विस्तारै पर्यटकको चहलपहल बढिरहेको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमन्थाङका निमित्त प्रमुख रामबहादुर गुरुङले बताउनुभयो । उपल्लो मुस्ताङको लोमन्थाङलाई माटाको सहरका रुपमा समेत लिइन्छ । एउटै पर्खालभित्र एक सय ८० वटा घर रहेको लोमन्थाङमा मुस्ताङी राजको दरबारसमेत छ ।
उपल्लो मुस्ताङमा भएका गुफा तथा गुम्बा हेर्नका लागि पनि स्वदेशी एवं विदेशी पर्यटक आउने गरेको झोङका स्थानीय मिककुमार गुरुङले जानकारी दिए । झोङमा रहेको ऐतिहासिक गुफाले यहाँ आउने जो–कोहीलाई लोभ्याउने गरेको बताउँदै उहाँले पाँच तला र एक सय आठ कोठा रहेको गुफा उपल्लो मुस्ताङको महत्वपूर्ण गन्तव्य रहेको छ ।
कोरोना त्रासका कारण विगतका दुई वर्ष यहाँको पर्यटनमा पनि असर परेको स्थानीयवासी बताउँछन् । कोरोना प्रभावित पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउनका लागि स्थानीय पालिकासँगै पर्यटनसम्बद्ध सङ्घसंस्थाले पनि कार्यक्रम अघि बढाएका छन् । मुस्ताङमा हालै पर्यटन व्यवसायी महिला सङ्घ नेपाल ९टेवान०ले प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिए ।














