• Home
  • ताजा समाचार
  • काठमाडौंमा गुञ्जियो रञ्जित गजमेरको ‘मोहनी मादलको’ (तस्वीर)
Image

काठमाडौंमा गुञ्जियो रञ्जित गजमेरको ‘मोहनी मादलको’ (तस्वीर)

काठमाडौं पुष ५

 संगीतकार रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादलको’ सार्वजनिक भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठानमा उनका समकालीन पिटर जे कार्थककी पत्नी रञ्जना, नोर्बु योञ्जनकी छोरी सुजाता, गजमेरका छोराछोरी सत्यजित र प्रीति लगायतले पुस्तक विमोचन गरे ।

आत्मकथालाई वी-रीडले प्रकाशन गरेको हो । गीतकार नगेन्द्र थापाले प्रवासी नेपालीको गीत लेखेर शरण प्रधानलाई संगीत भर्नको लागि अनुरोध गर्दा त्यही बेला गजमेरलाई भेटेको सम्झिए ।

सन् १९६३ देखि गजमेरसँग दोस्ती सुरु भएको भन्दै उनले ६० को दशक संगीतको उत्कर्षको समय रहेको बताए । अर्का गीतकार दिनेश अधिकारीले लक्ष्मीप्रसाद देवकोटाको ‘कुन मन्दिरमा जान्छौ यात्री’लाई संगीतबद्ध गरेर गजमेरले जोखिम मोलेको बताए ।

‘चर्चित सिर्जना चलाउनु जोखिम हुन्छ, उहाँले जोखिम मोल्नुभयो र राम्रो सिर्जना दिनुभयो,’ उनले भने, ‘त्यसपछि म उहाँको फ्यान भएँ ।’ गजमेरकै कारण आफूले ५ वटा गीतमा धुनका आधारमा गीत तयार पारेको अधिकारीले सुनाए ।

‘संगीतमा दिएको योगदानका कारण उहाँको आयु लामो हुने नै छ,’ उनले भने, ‘यो आत्मकथाले उहाँलाई अझ लामो आयु दिएको छ ।’ संगीतकार गजमेरले आफूले नेपाल र नेपालीका लागि संगीतका के कर्म गरे भन्ने प्रमाण पुस्तकमा रहेको बताए । काठमाडौंमा सुरुवाती दिनमा निकै संघर्ष गरेको स्मरण गर्दै उनले आफूलाई सहयोग गर्ने समकालीनलाई सम्झिए । आफू अहिले नेपालमा आएर नेपालीमा कुरा गर्न पाएको भन्दै उनले निकै खुसी व्यक्त गरे ।

पुस्तकका लेखक शेखर खरेलले गजमेरको समयको जस्तो सांगीतिक समाज आजकाल नपाइने भन्दै उनको योगदानबारे आफ्ना भनाइ राखे । ‘हामी कुनै रुखलाई सिंगो रुखमात्र देख्छौं,’ उनले भने, ‘यो पुस्तकले रुखको जरा पनि देखाउने काम गरेको छ ।’

कार्यक्रममा गजमेरद्वारा संगीतबद्ध गीत विभिन्न कलाकारले प्रस्तुत गरेका थिए । मोहनी लाग्ला है, तिम्रो मनमा लुकेको कुरा, चिसा–ेचिसो हावामा, वीरताको चिनो, भुलिगए सम्झनालाई लगायत गीतले प्रतिष्ठानको डबली गुन्जायमान बनेको थियो । बाद्यवाधनतर्फ सुरज प्रधान, विक्रम कार्की, रुपेश सिंह, जेपी जोशी, भवन गन्धर्व, संजीव मैनाली थिए । गायनतर्फ क्रमशः बिपिन, कर्म ग्याल्जेन, कमल किरण, नवीन गजमेर, बानीका प्रधान, शीला, जीना रसैली र टीका प्रसाईं थिए ।

दार्जिलिङ, काठमाडौं र मुम्बइमा लामो समय संगीत कर्म गरेका गजमेर यी तीनै थलोका स्वर्णयुगका द्रष्टा र स्रष्टा हुन् । दार्जिलिङ र काठमाडौंबीच रचनात्मक प्रतिस्पर्धाको समयमा उनी पहिले दार्जिलिङ र पछि काठमाडौंमा संगीत सिर्जनामा सक्रिय रहे ।

सन् ७० को प्रारम्भसँगै मुम्बइ पुगेका उनी आरडी बर्मन अर्केस्ट्राको स्थायी सदस्य बन्न पुगे । गजमेरले हिन्दी गीतमा वाद्यवादन सँगसँगै नेपाली गीतहरू संगीतबद्ध गरेका छन् ।

पुस्तकको भूमिकामा लेखक शेखर खरेल लेख्छन्, ‘रञ्जित गजमेरको आत्मकथा दुई खास कारणले विशिष्ट हुन सक्नेछ भन्ने मेरो बुझाइ छ । पहिलो, उहाँ यस्ता एकमात्र संगीतस्रष्टा हुनुहुन्छ, जसलाई दार्जिलिङ, काठमाडौं र बम्बई (बलिउड) का मूर्धन्य कवि एवं गीतकार, संगीतकार र गायकहरूसँग सहकार्यको सौभाग्य प्राप्त भयो ।

दोस्रो, उहाँले नेपाली मौलिक बाजा मादललाई यसरी विश्वसामु चिनाइदिनुभयो जसरी गोर्खा सैनिकले खुकुरीलाई संसारभर चम्काइदिए ।’ गजमेरसँगका कुराकानी, तथ्यप्रमाण संकलन र सम्बद्ध व्यक्तिसँगको भेटसहित पुस्तक लेखनका क्रममा तीन वर्ष व्यतीत भएको खरेलले उल्लेख गरेका छन् ।

सानैदेखि बाजागाजामा रुचि भए पनि आफन्तको इन्कारका बीच लुकीलुकी संगीत सिक्नुपर्ने अवस्था अनि संयुक्त परिवारको विघटनलाई गजमेरले खुलस्त राखेका छन् । अभिभावक गुमाएपछि आफ्नी आमाले सानैबाटै हुर्काएकी कुसुमसँग कसरी बिहे भयो भन्ने प्रसंग पनि पाठकका लागि नौलो हुन सक्छ ।

नारायणगोपाल, बच्चु कैलाश, फत्तेमान, गोपाल योञ्जन, अम्बर गुरुङ, अगमसिंह गिरीजस्ता स्रष्टासँगको संगत र रोचक किस्सा समेटिएको पुस्तकमा फिल्म निर्माणका रमाइला प्रसंग पनि छन् ।

बलिउडका चर्चित गुलजार, किशोर कुमार, आनन्द बक्शीका आनीबानी र स्वभावसँग पनि गजमेरले परिचित गराइदिएका छन् । बलिउड संगीतमा ‘कान्छा’ नाम कसरी रहन गयो र आरडी बर्मनले कुन प्रसंगमा गजमेरलाई यो नाम दिए भन्ने कथा पनि रमाइलो छ । आशा भोसलेको सानिन्ध्यमा रहेका गजमेरले २०१९ डिसेम्बरमा काठमाडौंमा ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोसले’ कार्यक्रममा प्रस्तुति दिएका थिए ।

दार्जिलिङबाट वीरगन्ज हुँदै काठमाडौं आएको प्रसंग, नेपाल एकेडेमी प्रवेश अनि रेडियो नेपालमा हुने गुटबन्दीलाई पनि गजमेरले आत्मकथामा समेटेका छन् । पत्नी कुसुम गजमेरको देहान्तसम्मका घटनालाई उनले पुस्तकमा अटाएका छन् । बलिउड संगीतमा पहाडी धुन र मादलको प्रयोगलाई प्रवेश गराएर नयाँपन दिएका गजमेरले नेपाली र हिन्दी कैयौं गीतमा काम गरेका छन् । पुस्तक आज (मंगलबार)देखि सबैका लागी उपलब्ध हुने जानकारी प्रकाशक राजीबधर जोशीले दिए ।

Related Posts

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni ५ दिन अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni १ हप्ता अगाडि

‎शान्तिकुञ्जबाट तीन ज्योति कलश रथ रवाना, ५० भन्दा बढी जिल्लामा जनजागरण अभियान

रौतहट २५ असोज । गायत्री परिवारकी संस्थापिका माता भगवती देवी शर्माको जन्मशताब्दी समारोहलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले भारतको हरिद्वारस्थित…

ByByanjana soni १ हप्ता अगाडि

गौशालामा नवदुर्गा महोत्सव २०८३ आयोजना हुँदै, घटस्थापनाको दिन भव्य कलश यात्रा

  काठमाडौं। श्री माँ भवानी दुर्गा पूजा तथा हिन्दू संस्कृति परिषद्ले यस वर्ष पनि नवदुर्गा महोत्सव २०८३ आयोजना…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *