काठमाडौं, माघ २७ गते । आज बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकमा सरकार सञ्चालनको विषयमा छलफल भएको हो । राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान तथा उर्जामन्त्री राजेन्द्र लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा छलफल भएको बताएका छन् ।
त्यस्तै आजको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः सरकारमा आउन आग्रह गरिएको छ । तर, यसमा रविले दिएको जवाफबारे केही बताइएको छैन । सरकारबाट बाहिरिएको रास्वपाले समर्थन भने कायमै राखेको छ ।
बैठकमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सहभागी थिए । जसपा, जनमत र नागरिक उन्मुक्तिका नेता भने उपस्थित भएनन् ।












