• Home
  • समाचार
  • आरोहणको ७२ वर्षपछि सेनाद्वारा अन्नपूर्ण हिमालबाट फोहर सङ्कलन
Image

आरोहणको ७२ वर्षपछि सेनाद्वारा अन्नपूर्ण हिमालबाट फोहर सङ्कलन

काठमाडौं, बैशाख २७ गते । आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ । नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर सङ्कलन गरिएको हो ।

आठ हजार ७१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्छ । विसं २०७९ चैत १७ गते गएको सेनाको हिमाल सरसफाइ टोली मङ्गलबार आधार शिविरबाट फर्किएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिएका छन् । सेनाका १० र पिक प्रमोशन ट्राभल एजेन्सीका १३ जनाले ४८ दिनसम्म हिमाल र आधार शिविर क्षेत्रमा फोहर सङ्कलन गरेका थिए ।

सफाइ अभियानको नेतृत्व नेपाली सेनाका सेनानी गजेन्द्र देउवाले गरेका थिए । क्याप्टेन भीमबहादुर भुजेलसहितको टोलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको चुचुरोसम्मै पुगेर फोहर सङ्कलन गरेको हो । एक हजार दुई सय किलोग्राम कुहिने र दुई हजार चार सय नकुहिने फोहर सङ्कलन गरिएको टोलीले जनाएको छ । कुहिने फोहर आधार शिविरदेखि तीन घन्टाको पैदलयात्रा बेँसीतर्फ झरेपछि पुगिने भुसकेतमा नारच्याङको अन्नपूर्ण युवा क्लबका प्रतिनिधिको रोहबरमा खाडल खनेर व्यवस्थापन गरिएको छ ।

नकुहिने फोहर प्रभु एयरको हेलिकोप्टरबाट म्याग्दीको दानामा ल्याइएको छ । आधार शिविरबाट हेलिकोप्टरमा ल्याइएको फोहर ट्रकमा राखेर दानाबाट काठमाडौँस्थित नेपाली सेनाको मुख्यालयमा पठाइएको दानाका इन्द्रसिंह शेरचनले बताएका छन् । प्लास्टिक, टिन, फलाम र सिसाजन्य दुई हजार चार सय किलोग्राम फोहर काठमाडौँ लगिएको हो ।

आरोहणको ७२ वर्षपछि अन्नपूर्ण हिमाल र आधार शिविर क्षेत्रमा सरसफाइ भएको गाउँ संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताउनुभयो । “आरोहण र पदयात्राका लागि गएकाहरूले फालेका सामानले फोहर बढ्दै गएको थियो”, उनले भने । “सेनाको टोलीले पहिलोपटक अन्नपूर्ण हिमाल सरसफाइ गरेको हो ।”

हिमाल सरसफाइका लागि पोखरा महानगरपालिकाले सेनालाई रु १५ लाख सहयोग गरेको छ । सेनाले अन्नपूर्ण, सगरमाथा, ल्होत्से र बरुञ्चे हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गरेको छ । गण्डकी प्रदेशमा रहेको आठ हजार मिटर अग्लो धवलागिरि र मनास्लु हिमालमा यसअगाडि नै सरसफाइ गरिएको थियो । हिमालमा हुने फोहरले वातावरणको सन्तुलन पनि गुमाएको र गलत सन्देश गएकाले सेनाले सफाइ अभियान चलाएको हो । सन् २०१९ देखि हिमाल सरसफाइ अभियान सञ्चालन गरेको नेपाली सेनाले अघिल्लो वर्ष सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजङ्घा हिमालबाट कुहिने सात हजार एक सय ५७ किलो फोहर सङ्कलन गरेको थियो ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *