काठमाडौं, २५ मंसिर । सरकारलाई आत्मसमीक्षा गर्दै अघि बढन सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आग्रह गरेका छन् ।आज काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले कसैलाई दोष नदिई कमिकमजोरी हटाएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् । उनले तीनवटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने स्पष्ट पारेका छन् ।
अध्यक्ष नेपाले मुलुकमा कायापलट ल्याउन तीनवटै तहका सरकारले आ–आफ्ना दायित्व पूरा गर्नुपर्ने स्मरण समेत गराएका थिए । सरकारले समीक्षा गर्दै अघि बढनु पर्ने र एकले अर्कालाई दोष दिएर मुलुक अघि बढ्न नसक्ने उनले जिकिर गरेका छन् । उनले गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने बताएका छन् । संविधानले प्रदत्त गरेको अधिकारहरु जनताले उपयोग गर्न सक्नुपर्ने उनको भनाई छ । सबै पालिकामा जनताले के के न्यूनतम सुविधा पाउनुपर्ने हो, त्यो सबैले मनन गर्न जरुरी रहेको उनले उल्लेख गरेका छन् । अध्यक्ष नेपालले संविधानले प्रदत्त गरेका अधिकारहरु जनताले उपयोग गर्न पाउने गरी काम गर्न स्थानीय तहका जनप्रतिनिधिले सबल ढंगले काम गर्ने विश्वास व्यक्त गरेका छन्।












