• Home
  • समाचार
  • आज वसन्त पन्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइदै
Image

आज वसन्त पन्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइदै

काठमाडौं माघ १२ गते । आज वसन्त पन्चमी हो । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ।ऋतुहरुको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ। वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ।

एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ–आठ दिनसम्म भेट गरेका थिए। पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो। यसै समयदेखि वसन्तराग गाउन थालियो।

सङ्गीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको आज विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ । प्राचीनकालमा वसन्त ऋतुमा मनाइने वसन्त पञ्चमी पर्व यो वर्ष वैदिक तिथिपत्र अनुसार वसन्त ऋतुमा मधुशुक्ल पञ्चमी कै दिन तथा लौकिक पञ्चाङ्ग अनुसार निरयण माघ शुक्ल पञ्चमी भनिएको एकैदिन परेको थियो । प्राचीन भारतवर्षमा प्रसिद्ध वेदाङ्ग ज्योतिष अनुसार एकयुगमा ५ संवत्सर, एक संवत्सरमा २ अयन, एक अयनमा ३ ऋतु, एक ऋतुमा २ महिना, एक महिनामा २ पक्ष र एकमा १५ दिन हुने र एक दिनमा ३० मूहुर्त हुने कुरा बताईएको छ ।

श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, सदा मुस्कुराइरहेकी, सर्वोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, चतुर्भुजा भएकी जसमध्ये पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक, तेस्रोमा स्फटिकको माला र चौथो हात अभय मुद्रामा रहेकी राजहंसमा सवार भएकी देवी सरस्वती हुन् भनी शास्त्रमा बताइएको छ। विशेषगरी शैक्षिक संस्थामा विद्यार्थीले महत्वका साथ यो पर्व मनाउँछन्।

उपत्यकाका पशुपति जयवागेश्वरी, स्वयम्भूको सरस्वतीस्थान, लाजिम्पाटको नील सरस्वती, चाँगु, फर्पिङ, बल्खु, हाँडीगाउँ, लेलेको सरस्वती मन्दिरमा पूजा एवम् दर्शन गर्नेको भिड लाग्दछ। भक्तपुरको हनुमन्ते खोलाको पूर्वपट्टि चौरमा सरस्वती बस्ने विश्वास गरिन्छ। ल्हासाबाट मूर्ति ल्याइएको यी सरस्वतीलाई नीलसरस्वती भनिन्छ। यस ठाउँमा श्रीपञ्चमीको अघिल्लो दिन सरस्वतीलाई तेल घस्न विद्यार्थीको भिड लाग्दछ।

बौद्ध धर्मावलम्बीले पनि सरस्वतीलाई बोधिसत्व मञ्जुश्रीका रुपमा ज्ञानको प्रतीक मानेर पूजाआजा गर्छन्। यस दिन बिहानै भक्तिपूर्वक कलश स्थापना गरी पञ्चोपचारले गणेश, सूर्य, अग्नि, विष्णु, शिव आदि देवताको पूजा गरी सरस्वतीको पूजा गरिन्छ। सरस्वतीलाई नैवेद्यका रुपमा नौनी, दही, दूध, धानको लावा, तिलको लड्डु, नरिवलको जल, मूला, बयर, बेल, अदुवा अर्पण गरिन्छ।

सरस्वतीलाई सेतो रङ्ग, फूल, चन्दन, शङ्ख आदि प्रिय लाग्ने भएकाले आजका दिन पूजामा यी सामग्री चढाउने गरिन्छ। पूजापछि सरस्वतीको ध्यान र ‘श्रीं ह्रीं सरस्वत्यै स्वाहा’ मन्त्र जप गरिन्छ। यो मन्त्रलाई विद्या, बुद्धि र सौभाग्य प्रदायक मानिन्छ। यसपछि सरस्वती कवच पाठ गरिन्छ।

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *