वीरगंज – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) वीरगंजले दशैं अघिका सबै सरकारी विदा र शनिबार समेत कक्षा सञ्चालन गर्न आफ्ना सम्पूर्ण सदस्य विद्यालयलाई आग्रह गरेको छ।
प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तवका अनुसार हाल हैजा र “जेन जी आन्दोलन”का कारण विद्यालयहरू नियमित सञ्चालन हुन नसकेकाले विद्यार्थीको अध्ययनमा परेको असर कम गर्न यो निर्णय गरिएको हो।
उनका अनुसार अबदेखि विद्यालयहरू नियमित सञ्चालन हुनेछन्। दशैं अघिका सरकारी विदा र शनिबार पठन–पाठनमा प्रयोग गरिनेछ भने हरेक दिन एक अतिरिक्त पिरियड राखिनेछ। यसअनुसार विद्यालयको छुट्टी समय दिउँसो ४:०५ बजे हुनेछ। शुक्रबार विदा नहुने र शनिबार हाफ डे कक्षा सञ्चालन गरिनेछ। यो व्यवस्था जेनजी शोक विदा (असोज १) र घटस्थापना विदा (असोज ६) बाहेक लागू हुनेछ।
प्याब्सनले अभिभावकहरूलाई असोज ९ गतेभित्र विद्यार्थीको शुल्क बुझाउन पनि अनुरोध गरेको छ, ताकि शिक्षक–शिक्षिकाहरूलाई दशैं पर्व उल्लासपूर्वक मनाउन सहज होस्। साथै, सदस्य विद्यालयहरूलाई परीक्षाको विषयमा स्वविवेकले निर्णय गर्ने अधिकार दिएको छ।
प्याब्सनले “जिम्मेवार अभिभावकको सहकार्यले मात्र उत्कृष्ट शिक्षा सम्भव हुन्छ” भन्दै अभिभावकको सकारात्मक सहयोग अपेक्षा गरेको छ।












