वीरगंज — विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध, अनुशासन तथा सेवाभावको विकास गर्ने उद्देश्यले वीरगंज महानगरपालिका–१२ मुर्लीस्थित सगरमाथा स्कुलमा ‘ब्याच वितरण कार्यक्रम–२०८३’ भव्य तथा प्रेरणादायी वातावरणमा सम्पन्न भएको छ।
कार्यक्रम नेशनल प्याब्सन वीरगंज नगर अध्यक्ष तथा सगरमाथा स्कुलका संस्थापक जियालाल गुप्ताको सभापतित्व तथा कौशल श्रीवास्तवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा विद्यालयका हेड ब्वाय, हेड गर्ल, विभिन्न हाउसका क्याप्टेन तथा उप–क्याप्टेनहरू, साथै कक्षा १ देखि १० सम्मका कक्षा मनिटरहरूलाई नेतृत्व र जिम्मेवारीको प्रतीकस्वरूप ब्याच, टाई तथा ब्यानर वितरण गरिएको थियो। उक्त सामग्री सभापति, प्रमुख अतिथि तथा अन्य अतिथिहरूद्वारा प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सभापति जियालाल गुप्ताले नेतृत्व भनेको पद प्राप्त गर्नु मात्र नभई जिम्मेवारी, अनुशासन, सेवा र समर्पणको अभ्यास भएको बताए। उनले विद्यार्थीहरूलाई आफूलाई सुम्पिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै विद्यालय र समाजका लागि उदाहरणीय बन्न आग्रह गरे।
“आजका विद्यार्थी नै भोलिका सक्षम नागरिक र राष्ट्रनिर्माता हुन्। त्यसैले शिक्षासँगै नेतृत्व क्षमता, आत्मविश्वास र नैतिक मूल्यको विकासमा विशेष ध्यान दिन आवश्यक छ,” गुप्ताले बताए।
प्रमुख अतिथि कौशल श्रीवास्तवले विद्यालयले विद्यार्थीहरूलाई प्रारम्भिक चरणदेखि नै नेतृत्व विकासका अवसर प्रदान गर्नु सकारात्मक र अनुकरणीय कार्य भएको उल्लेख गरे। उनले जिम्मेवारी वहन गर्न सिकेका विद्यार्थीहरू भविष्यमा सफल नेतृत्वकर्ताका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा हरिन्द्र कुशवाहा, नरेश कुर्मी, सुरेश साह, नरेश रौनियार तथा गौतम श्रीवास्तव लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै पत्रकारहरू राजेन्द्र सिंह राजपूत, जगत राई, अभिलाष गुप्ता तथा दीपु बरनवालको समेत सहभागिता रहेको थियो।
विद्यालयका सञ्जीव यादवले कार्यक्रमको सहजीकरण गरेका थिए। कार्यक्रममा सम्मानित विद्यार्थीहरूले आफूहरूलाई प्रदान गरिएको जिम्मेवारी निष्ठापूर्वक निर्वाह गर्दै विद्यालयको गौरव बढाउन प्रतिबद्ध रहने बताएका थिए।
कार्यक्रमको समापन गर्दै प्रमुख अतिथि श्रीवास्तवले, “आज प्रदान गरिएको ब्याच केवल एउटा चिन्ह होइन, यो जिम्मेवारी, अनुशासन, सेवा र नेतृत्वको यात्राको सुरुवात हो,” भन्दै विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे।












