• Home
  • जिवनशैली
  • निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने
Image

निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्डको उपाधिबाट सम्मानित गरिने

काठमाडौं, १३ कात्तिक । अभिनेत्री निरुता सिंहलाई मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधिबाट सम्मानित गरिने भएको छ। शनिबार राजधानीमा आयोजना गर्ने ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६ को समारोहमा सिंहलाई उपाधि प्रदान गर्न लागिएको हो।

नेपाली फिल्म क्षेत्रमा अभिनय कर्ममार्फत साढे तीन दशकभन्दा लामो समयदेखि योगदान पुर्‍याउँदै आएकी सिंह बहुप्रतिभाशाली अभिनेत्रीका रूपमा परिचित छिन्।

सशक्त अभिनय, विशिष्ट व्यक्तित्व र दर्शकमाझ स्थापित पहिचानका कारण उनले नेपाली फिल्म क्षेत्रमा विशेष स्थान बनाएकी छन्।

सन् १९९३ मा निर्देशक तुलसी घिमिरेको फिल्म दक्षिणाबाट अभिनय यात्रा सुरु गरेकी सिंहले रहर, मितज्यू, दर्पणछायाँ, आफन्त, आफ्नो मान्छे, ठुलदाई, बन्धकी, चाँदनी, को आफ्नो को विरानो, नाता रगतको, खानदान, दाल भात तरकारी र ३६ को आँकडालगायत दर्जनौँ फिल्ममा अभिनय गरेर आफ्नो छुट्टै पहिचान स्थापित गरेकी थिइन्।

अभिनयसँगै गायनमा समेत रुचि राख्ने सिंहले नेपाल टेलिभिजनबाट प्रसारण भएको पारिवारिक धारावाहिक वंशको शीर्षगीतमा स्वर दिएकी थिइन्। उनले दीपशिखा नामक म्युजिक एल्बमका लागि पनि गीत गाएकी छन्।

फिल्म क्षेत्रबाट केही समय विश्राम लिएर भारतको मुम्बईमा बसोबास गर्दै आएकी सिंहले सन् २०१९ मा मह जोडीको फिल्म दाल भात तरकारीमार्फत अभिनयमा पुनरागमन गरेकी थिइन्। नेपाली कला र संस्कृतिको प्रवद्र्धनमा समेत योगदान पुर्‍याउँदै आएकी सिंहलाई नेपाल सरकारले सन् २०२३ मा प्रबल जनसेवाश्री पदकबाट सम्मानित गरेको थियो।

नेपाली फिल्म क्षेत्रमा उनले पुर्‍याएको योगदान, उपलब्धि र प्रेरणादायी व्यक्तित्वको उच्च कदर गर्दै मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६ को उपाधिबाट सम्मान गर्न लागिएको आयोजक रिबन इन्टरटेनमेन्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले जानकारी गराए। यसअघि अभिेत्रीहरु करिश्मा मानन्धर, गौरी मल्ल, भुवन चन्द थापा, वसुन्धरा भुसाल र पूजा चन्दलाई मानार्थ मिसेस नेपाल वर्ल्डबाट सम्मानित गरिएको थियो।

यसैबीच, ह्विस्पर मिसेस नेपाल वर्ल्ड २०२६ को अन्तिम स्पर्धामा सहभागी हुन मिसेस वर्ल्ड २०२५ की विजेता चनिता श्रीदाकेत क्रेथोर्न स्यामी तीनदिने भ्रमणका लागि शुक्रबार दिउँसो काठमाडौं आउँदैछिन्। आयोजक शिला बास्तोलाका अनुसार थाइल्यान्डकी स्यामीले मिसेस वर्ल्डको ताज जितेपछि पहिलोपटक नेपाल भ्रमण गर्न लागेकी हुन्। भ्रमणका क्रममा उनी मिसेस नेपाल वर्ल्डसँग सम्बन्धित विभिन्न कार्यक्रम तथा गतिविधिमा सहभागी हुनेछिन्।

प्रतियोगिताको अन्तिम स्पर्धामा प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।

गृहिणीदेखि डाक्टर, इन्जिनियर, बैंकर, व्यवसायी, नर्स र फेसन डिजाइनरसम्म विभिन्न पेसामा सक्रिय महिलाहरूको सहभागिताले प्रतियोगितालाई विविधतापूर्ण बनाएको छ। प्रतियोगिताबाट छानिने मिसेस नेपाल वर्ल्डकी विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन्।

Related Posts

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ घण्टा अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ घण्टा अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni २ हप्ता अगाडि

सामाजिक सञ्जालमा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ भनिने मनीष पाण्डे पक्राउ

काँकडभिट्टा । सामाजिक सञ्जालमा विवादास्पद तथा आपत्तिजनक गतिविधि गरेको आरोपमा ‘झापाली’ नामले चिनिने मनीष पाण्डे पक्राउ परेका छन्।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *