काठमाडौँ फागुन २७ गते । ठुलो मान्छेले काम गर्नै हुँदैन भन्ने मानसिकतालाई भत्काउन जरुरी रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले बताएका छन् । आजबाट सुरु भएको तीन महिने पशुपति सरसफाइ अभियानको उद्घाटन गर्दै मन्त्री किराँतीले नेपालमा ठुलो मानिसले सानो काम गर्नै हुँदैन भन्ने संस्कृतिको विकास भइरहेको भन्दै यसलाई भत्काएर अघि बढ्नुपर्ने बताएका छन् ।
पर्यटनमन्त्री किराँतीले पशुपति क्षेत्र सफाइका लागि पशुपति क्षेत्र विकास कोषले योजना बनाएर बुझाउन निर्देशन दिएका छन् । पर्यटनमन्त्री किराँतीले सफा रहनु सभ्यता प्रदर्शन गर्नु भएको उल्लेख गर्दै आस्थाको केन्द्र पशुपतिनाथलाई सबै मिलेर सफा राख्नुपर्ने बताएका छन् । पशुपतिनाथ नै फोहोर राख्ने हो भने देश कहिले सफा गर्छौँ भन्दै पर्यटनमन्त्री किराँतीले प्रश्न गरेका छन् ।
सांस्कृतिक मूल्य र मान्यता हराउँदै गएको भन्दै समाजसँग जोडिएको विकृतिलाई सफा बनाउनुपर्ने पर्यटनमन्त्री किराँतीको भनाई छ । आफू मन्त्री रहेको मन्त्रालय अन्तर्गतका सबै निकायहरूलाई सबै क्षेत्रमा सफा राख्न निर्देशिका बनाएर पठाएकाले सो अनुसारको काम नभए कारबाही गर्ने उनले चेतावनी दिएका छन् ।












