काठमाडौं, फगुन २५ गते । नयाँ राष्ट्रपतिका लागि आज मतदान हुँदैछ । राष्ट्रपतिको निर्वाचनको मत परिणाम साँझ ७ बजे भित्र सार्वजनिक गरिने निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिएका छन् । सङ्घीय संसद् र प्रदेशसभा सदस्यका लागि उक्त कक्षमा बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र निर्माण गरिएको छ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ । निर्वाचनमा सङ्घीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ ।
राष्ट्रपति पदको निर्वाचनमा गठबन्धनका तर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ मैदानमा छन् । निर्वाचन अधिकृतको कार्यालयले दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने गरी तयारी गरिएको छ ।












