काठमाडौं, फगुन २१ गते । आज सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिँदैछन्। सोही प्रयोजनका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ।गत माघ २६ गते प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले उनी मुख्यमन्त्री नियुक्त भएका थिए। संविधान अनुसार, मुख्यमन्त्री नियुक्त भएको तीस दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ।
राष्ट्रपतिको निर्वाचनलाई लक्षित गरेर संघमा ८ दलबीच गठबन्धन बनेपछि मुख्यमन्त्री शाहले सोही गठबन्धनका दलहरुबाट विश्वासको मत पाउने अपेक्षा गरेका छन्। तर, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले उनलाई विश्वासको मत दिने वा नदिने अन्यौल छ। उनीहरुले लिखित सहमतिको माग गरेका छन्।












