काठमाडौं, फागुन २० गते । मोबाइल तथा इन्टरनेट सेवाको गुणस्तर वृद्धिलाई प्राथमिक दिएर त्यसमा सबै ठाउँ र सबै जनताको पहुँच स्थापित गर्नुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् । नेपाल दूरसञ्चार प्राधिकरणको रजत महोत्सवका अवसरमा आयोजित गरेको कार्यक्रममा बोल्दे मन्त्री शर्माले मोबाइल र दूरसञ्चार सेवा शुल्कलाई किफायती बनाउनु पनि उत्तिकै महत्वपूर्ण सवाल रहेको उल्लेख गरेकी छन् । सरकारका प्रवक्ता समेत रहेकी शर्माले दूरसञ्चारलाई सेवामुखी बनाउँदै जनताले महसुस गर्ने कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएकी छन् ।
मन्त्री शर्माले भनिन्, “सामाजिक उत्तरदायित्वका कार्यलाई प्राथमिकता दिन म विशेष आग्रह गर्न चाहन्छु, प्राधिकरणले उपलब्ध राज्यको स्रोतको सदुपयोग गरी सूचना प्रविधिमार्फत जनताको जीवनस्तर उठाउन ठोस पहलकदमी लिन आवश्यक छ ।” उनले प्राधिकरण नियामक संस्था भएकाले प्रभावकारी नियमनको व्यवस्था गर्न पनि आग्रह गरेकी छन् ।
विश्वव्यापीरुपमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै मन्त्री शर्माले दूरसञ्चार सेवालाई गुणस्तरीय, भरपर्दो तथा सर्वसुलभ बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको औँल्याएकी छन् । दूरसञ्चार सेवा सञ्चालन तथा प्रयोगका सम्बन्धमा नीतिगत, कानुनी तथा संरचनागतरुपमा आवश्यक सुधार गरी दूरसञ्चार सेवाको विकास र विस्तार गर्नुपर्ने उनको भनाइ छ ।














