काठमाडौं, फागुन २० गते । मुलुकमा लोकतन्त्रको आवरणमा लुटतन्त्र हाबी भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले बताएका छन् । राप्रपा नेपाल मकवानपुरद्वारा हेटौंडामा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले मुलुकका ठूला भनिने नेताहरू निर्लज्ज ढंगले लुट मच्चाउन लागेको आरोप लगाएका छन् ।
अध्यक्ष थापाले अरबौँ भ्रष्टाचारको मुद्दाहरू एनसेल करछली, वाइडबडी, सार्वजनिक जग्गा अतिक्रमण, सुन तस्करी हुँदै कोभिड भ्याक्सिनमा समेत भ्रष्टाचार गर्ने काममा ठूला भनिने नेताहरू संलग्न हुनु ब्रम्हलुटको पराकाष्ठा भएको बताएका छन् । विदेशी हस्तक्षेप र प्रभाव नाङ्गो रुपमा बढेको र मुलुकको स्वाधीनता कमजोर भएको अध्यक्ष थापाले उल्लेख गरेका छन् । अध्यक्ष थापाले राप्रपा नेपाललाई उठाउने र मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने दृढता व्यक्त गरेका छन् । कार्यकर्ताहरूलाई उच्च मनोबलसहित अब संगठन निर्माणमा केन्द्रित हुन अध्यक्ष थापाले आग्रह गरेका छन् ।












