काठमाडौं, फागुन २ गते । यातायात व्यवसायी र मजदुरका जायज माग सम्बोधन गरिने उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रतिवद्धता जनाएका छन् । आज सिंहदरबारमा यातायात व्यवसायी तथा मजदुरसँग भएको वार्ताको क्रममा मन्त्री श्रेष्ठले जायज माग र मुद्दा सम्बोधन हुने बताएका हुन् ।
यातायात व्यवस्था सुधार कार्यदल गठन भएको र यो कार्यदलले पनि एउटा खाका तयार पार्ने यातायातमन्त्री श्रेष्ठले जानकारी दिएका छन् । कार्यदलले यातायात व्यवसायी, मजदुर र सर्वसाधारणको समेत माग सम्बोधन गर्ने र यातायात क्षेत्रको समग्र समस्या समाधान गर्ने उनको भनाई छ ।
मन्त्री श्रेष्ठले यातायात व्यवसायी र यातायात मजदुरले भोगिरहेको समस्या मन्त्रालय र राज्यकै समस्या भएकोले यसको समाधान गरिने बताएका छन् । उनले आन्दोलनका कार्यक्रम फिर्ता लिन व्यवसायीलाई अनुरोध गरेका छन् ।












