काठमाडौं, माघ ३ गते । आज मन्त्रपरिषद् विस्तार हुँदैछन् ।प्रधानमन्त्री तथा नेकपा (माओवादीक केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो । सोमबार राति अबेरसम्म बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै आज मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो । नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो १ बजेका लागि समय निर्धारण गरिएको छ ।
कसलाई कुन मन्त्रालय ?
दलहरूबीच भएको सहमति अनुसार नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री, चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।प्रधानमन्त्रीमा प्रचण्ड र उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नारायणकाजी श्रेष्ठले पहिलो चरणमै शपथ लिइसकेका छन् । थप तीन मन्त्रीमा रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीले अवसर पाउने भएका छन् । शर्मालाई सञ्चार, किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र मोदीलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । एक राज्यमन्त्रीको भने टुङ्गो लाग्न बाँकी नै रहेको छ । त्यस्तै गृह मन्त्रालय लिइसकेको राष्ट्रिय स्वतन्त्र पार्टीले अझै नाम टुंगो लगाएको छैन ।
नेकपा (एमाले ) को भागमा परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य तथा जनसंख्या र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय परेको छ । अर्थ मन्त्रालय यसअघि नै लिइसकेको छ । एमालेको तर्फबाट परराष्ट्रमन्त्रीमा बिमला राई पौडेल र स्वास्थ्यमन्त्रीमा पदम गिरीको नाम पक्का भएका छन् ।
राप्रपाले ३–३ वटा मन्त्रालय पाउने भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्रीसहित उर्जा र ध्रुवबहादुर प्रधान युवा तथा खेलकुदमन्त्री पक्का भएका छन् । जनता समाजवादी पार्टी (जसपा)को भागमा दुई र जनमत पार्टीको भागमा एक मन्त्रालय परेको छ । त्यस्तै जनमतलाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय परेको छ । उसले अब्दुल खानलाई मन्त्री बनाइसकेको छ ।












