• Home
  • अर्थ
  • ठमेलमा पुस्तकको व्यापार बढ्दै : ‘फरगेट काठमाडौँ’ पर्यटकको रोजाइमा
Image

ठमेलमा पुस्तकको व्यापार बढ्दै : ‘फरगेट काठमाडौँ’ पर्यटकको रोजाइमा

काठमाडौं, पुस ९ गते ।  कोरोना महामारीले चौपट बनाएको पुस्तकको व्यापार राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विस्तारै बढ्न थालेको छ । विदेशी पर्यटकलाई लक्षित गरी राखिएका पुस्तकको बिक्री बढ्न थालेको पिलग्रिम्स बुक हाउसका सञ्चालक कहानी तिवारीले बताउनुभयो । भारतबाट किताब खरिद गरेर ल्याउने र नेपालमा बिक्री गरिने उहाँले सुनाउनुभयो । पाँच–दश वर्षअघि हुने व्यापारको तुलनामा अहिले पुस्तक बिक्री छैन ।

तर कोरोना महामारी पछि पाठक थपिएको पिलग्रिम्स बुक हाउसका बिक्री प्रवन्धक गौरव अवस्थीले बताउनुभयो । “अहिले स्थानीय, त्यसमा पनि युवा पाठकको सङ्ख्या कोरोना महामारीपछि थपिएको छ । पर्यटक भने यो वर्ष धेरै आएका छैनन्”, उहाँले भन्नुभयो । पछिल्लो समय अनलाइनबाट पनि पाठकले आफूलाई मन परेको पुस्तक किन्न थालेका छन् । “विदेशी पसलमै आउँछन्, केहीले अनलाइनबाट लिन्छन्, स्थानीय पाठक आफैँ आएर हेरेर पुस्तक लैजान्छन्”, उहाँले भन्नुभयो, “जर्मन, फ्रान्स, अमेरिका, भारतलगायत देशका पर्यटक पुस्तक खोज्न आउँछन् ।” विदेशीको तुलनामा नेपाली पाठकको सङ्ख्या पनि कम छैन ।

अवस्थीका अनुसार नेपाली पाठकले ‘सेल्फ हेल्प’, व्यवसायसम्बन्धी, बालबालिकासम्बन्धी, साहित्य, नाटक, धार्मिक, सदगुरु, ओशोको पुस्तक धेरै खोज्छन् । पर्यटकले विदेशी लेखककै पुस्तक बढी खोज्ने उहाँको अनुभव छ । नेपाली लेखक बुद्धिसागरद्वारा लिखित अङ्ग्रेजी अनुवाद ‘कर्णाली ब्लुज’, पारिजातको ‘शिरिषको फूल’, मन्जुश्री थापाको ‘फरगेट काठमाडौँ’, सम्राट उपाध्यायको ‘द गुरु अफ लभ’,‘यारेस्टिङ गड इन काठमाडौँ’, ‘द रोयल घोस्ट’लगायतका पुस्तक विदेशी पाठकको रोजाइमा पर्छन् । थापाद्वारा लिखित ‘फरगेट काठमाडौँ’मा २०५८ सालमा नेपालमा भएको राजदरबार हत्याकाण्डदेखि आर्थिक सङ्कटको विषय समेटिएका छन् । जुन नेपाली पुस्तकमध्ये पर्यटकले बढी खोज्ने किताब हो । पिलग्रिम्समा रु ५० देखि १५ हजारसम्म मूल्यका पुस्तक पाइन्छन् । विदेशीले किताबमा छुट नखोज्ने भन्दै नेपालीले नै बढी खोज्ने अवस्थीको भनाइ छ ।

साथै अन्य किताबमा ‘इकिगाइ’,‘जापनीज वे अफ लिभिङ’, व्यवसाय सफल पार्ने विषय समेटिएको ‘रिच ड्याड पुअर ड्याड’, ‘थिन्क एण्ड ग्लोरिज’, ‘द पावर अफ कन्फ्युज्ड माइन्ड’, विदेशी लेखक जोन भेक्टनद्वारा लिखित ‘हिस्ट्री अफ नेपाल’, काठमाडौँमा ३० वर्ष बसोबास गर्नुभएका थोमसद्वारा लिखित ‘काठमाडौँ’, ‘म्यासाकर रोयल प्यालेस’ लगायतका पुस्तक बढी बिक्छन् । विदेशी ग्राहक निश्चित मौसममा आउने भएपनि स्वदेशी ग्राहक बाह्रै महिना आउने ठमेलस्थित नेपाल बुक हाउसका सञ्चालक गणेशजङ्ग कार्कीले बताउनुभयो । विदेशीले पर्वतीय पदयात्रासम्बन्धी पुस्तक बढी खोज्ने भन्दै उहाँले स्वदेशी पाठकले साहित्य र विचार समेटिएका पुस्तकमा बढी रुचि राख्ने अनुभव सुनाउनुभयो । विराटनगर स्थायी घर भएका कार्कीले विशेष गरी नेपालका पर्यटकीय क्षेत्रसम्बन्धी किताब विदेशीले रुचाउने जिकिर गर्नुभयो ।

कार्कीको पसलमा रु दुई सय ५० देखि २५ हजारसम्म मूल्यका पुस्तक पाइन्छन् । नेपाली भाषा सिक्न चाहाने पर्यटक पनि आउने भन्दै उहाँले पदयात्रामा प्रयोग हुने शब्द भएका किताब खोजिने बताउनुभयो । पैँतीस वर्षदेखि ठमेल बुक्स सञ्चालन गर्दै आउनुभएका अन्जनी अग्रवालले ‘सेकेन्ड ह्याण्ड’ पुस्तकको व्यापार गर्नुहुन्छ । अनलाइनमार्फत पुस्तक बिक्री हुन थालेसँगै आफ्नो व्यापार घटेको उहाँको तर्क थियो । कतिपय विदेशीले त उहाँको पसलमा किताब बिक्री गर्न ल्याउने अग्रवालले सुनाउनुभयो । पर्यटकले नेपालका धामी झाँक्री, मौरीपालन, इतिहासलगायत पदयात्रामा उपयोगी हुने पुस्तक खोज्ने गरेको उहाँले सुनाउनुभयो । पछिल्लो समयमा व्यापार नभएको भन्दै अग्रवालले सटर भाडा तिर्न गाह्रो भइरहेको गुनासो गर्नुभयो । ठमेलमा अहिले विदेशी पर्यटक आउने मौसम नभएपनि अङ्ग्रेजी नयाँ वर्ष र क्रिसमसले केही चहलपहल देखिएको ठमेल पर्यटन परिषदका अध्यक्ष भवी शर्माले बताउनुभयो । —

Related Posts

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni २ हप्ता अगाडि

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *