• Home
  • राजनीति
  • चुनावबारे प्रवासी नेपालीकाे मत: विदेशका विकास र समृद्धि बुझेका युवाहरू संसदमा आउनुपर्छ
Image

चुनावबारे प्रवासी नेपालीकाे मत: विदेशका विकास र समृद्धि बुझेका युवाहरू संसदमा आउनुपर्छ

काठमाडाैं, २८ कात्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा प्रवासी नेपालीलाई पनि चुनावी माहोलले छोएको छ। विदेशका विकास र समृद्धि बुझेका उनीहरू निर्वाचनबाट युवा उम्मेदवारलाई जिताउन सकिए केही भए पनि देश विकासमा सहयोग हुन्छ कि भन्ने धारणा राख्छन्।

निर्वाचनमा उल्लेख्य युवा उम्मेदवार रहेका त्यसमा पनि विषय विज्ञहरूसमेत समेटिएकाले उनीहरूलाई जिताएर नीति निर्माण तहमा पुर्‍याउनु पर्ने उनीहरूको धारणा छ। एनआरएनएका पूर्वअध्यक्ष तथा व्यवसायी जीवा लामिछानेको विचारमा अवको राजनीतिक भविष्यसमेत युवाहरूकै हातमा छ।

बेलायतस्थित लिभरपुल विश्वविद्यालयका सिनियर लेक्चरर डा. हेमराज शर्मा अब राजनीतिमा नयाँ पुस्ता आउनुपर्ने धारणा राख्छन्। धेरै लामो समय राजनीतिक छलफलमै समय सकिएकाले अब आर्थिक विकासको दिशामा देशअघि बढ्नुपर्ने उनकाे भनाइ छ।

पुरानो पुस्ताले राजनीतिक परिवर्तन गरे पनि आर्थिक समृद्धि ल्याउन नसकेको तर्क गर्दै शर्माले अब नयाँ पुस्तालाई अवसर दिइनुपर्ने बताए। शर्माले देशैभरका युवा उम्मेदवार जिताउन प्रयास गर्नुपर्ने बताए। आर्थिक उन्नतिका लागि केही गरौँ भनेर इच्छा राखेरमात्रै नहुने भएकाले ज्ञान र सीप भएका व्यक्ति नेतृत्वमा आउनुपर्नेमा जोड दिए।

बेलायतस्थित व्यवसायी तथा समाजसेवी कृष्ण तिमल्सिनाले पनि देशको नेतृत्व अब युवा पुस्ताले लिनुपर्नेमा जोड दिए। पुराना पुस्ताका नेताहरूलाई पटकपटक हेरिए पनि आर्थिक समृद्धिको दिशामा काम गर्न नसकेकाले नयाँलाई अवसर दिनुपर्ने उनको धारणा छ। धादिङका उनले पुराना पुस्ताका नेताहरूको अनुभवसमेत समेटेर युवा पुस्तालाई नेतृत्वमा लैजाने हो भने जनअपेक्षा पूरा गर्न सकिनेतर्फ आशा राख्न सकिने धारणा राखे।

बेलायतका चर्चित समाजसेवी तथा व्यवसायी सूर्य गुरुङले पुरानो पुस्ताको नेतृत्वले ल्याएको विकृतिले स्वतन्त्र उम्मेदवारको महत्व बढाएको बताए। पुरानो नेतृत्वले चुनावको बेला नयाँ नयाँ कुराको आश्वासन दिने तर त्यो डेलिभरी गर्न नसक्दा जनतामा निरासा बढ्दै गएको उनको दाबी छ।  आगामी निर्वाचनमा भिजन, इमान्दारिता, क्षमता र अनुभव भएका व्यक्तिले चुनाव जितेमा मात्र देशले नयाँबाटो लिने उनको बुझाइ छ।

गुरुङले स्वतन्त्र उम्मेदवारले जितेमा पुराना राजनीतिक दलहरूलाई केही गर्नु पर्छ भन्ने चुनौती थपिनेसमेत बताए।  गुरुङले गत स्थानीय निर्वाचनबाट काठमाडौँमा बालेन साह र धरानमा हर्कराज साम्पाङले सर्वसाधारणको मन जितेर आफ्नो क्षमता देखाइसकेको बताए।

संयुक्त राष्ट्रसंघअन्तर्गत विश्व स्वास्थ्य संगठनमा कार्यरत डा. सञ्जीव सापकोटा अहिले नेपालमै बसेर चुनावी माहोल हेरिरहेका छन्। लामो समयदेखि अमेरिकामा बसेर काम गरेका उनले नेपालमा स्वास्थ्य र शिक्षाका लागि दीर्घकालीन नीति ल्याउन सक्ने नेतृत्वको अभाव रहेको बताए। देशमा राजनीतिक स्थायित्व नभएकै कारणले विकासले गति लिन नसकेको सापकोटा बताउँछन्।

उनले आगामी संसदमा युवाहरुको उपस्थिति अनिवार्य बताउँदै भने, ‘नेपालका कुना कन्दरामा बसेका नेपालीको स्वास्थ्य र आर्थिक अवस्थालाई सुधार्न सक्ने नेतृत्व चाहियो। आधारभूत स्वास्थ्यको सुरक्षा र ग्यारेन्टी गर्ने सांसद आउनुपर्छ। त्यसले देशको आर्थिक अवस्था पनि सुधार्छ किनभने स्वास्थ्य नै सम्पत्ति हो।’

बीबीसीका पूर्वपत्रकार भगीरथ योगी यसपटकको चुनावबाट ३० देखि ४० प्रतिशत नयाँ अनुहार संसदमा चुनिएर आउने आफूले अपेक्षा गरेको बताए। ‘यसपटकको चुनावलाई केही हदसम्म राजनीतिक संक्रमणको चुनाव पनि भन्न सकिन्छ, तर दोश्रो वा तेश्रो पुस्तामा नेतृत्व हस्तान्तरण गर्न अझै केही समय लाग्न सक्छ,’ योगीले भने, ‘उमेरले भन्दा पनि विचार, कार्यक्रम र चरित्रले कुनै पनि व्यक्तिलाई युवा भनेर चिनाउने हो। निर्वाचन प्रणालीमा सुधारसहित उच्च नैतिक चरित्र भएका, विषय विज्ञहरु संसदमा चुनिएर आएमा संसदकाे गरिमा र प्रभावकारिता बढ्ने स्वतः सिद्ध छ, तर यसको लागि आम मतदाता नै चनाखो हुनुपर्छ।’

Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ७ दिन अगाडि

एकै दिन सुन तोलामा आठ हजार तीन सयले घट्यो

काठमाडौं, १५ कात्तिक । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनचाँदी दुवैको मूल्यमा उच्च गिरावट आएको छ।…

ByByanjana soni १ हप्ता अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

रौतहटमा सडक दुर्घटना : प्रहरी जवानको ज्यान गयो, श्रीमती जीवन-मरणको दोसाँधमा

  रौतहट, १३ कात्तिक। रौतहटमा ट्याक्टर र मोटरसाइकलबीच भएको भीषण सडक दुर्घटनाले एक प्रहरी परिवारमा बज्रपात भएको छ।…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *