जनकपुरधाम — हालै प्रस्तुत गरिएको शिक्षा विधेयकको विरोधमा मधेश प्रदेशका निजी विद्यालय सञ्चालकहरूले आज जनकपुरधामस्थित प्रदेश सभा अगाडि बृहत प्रदर्शन गरेका छन्। प्याब्सन, एन–प्याब्सन र हिसानको संयुक्त आयोजनामा आयोजित प्रदर्शनमा प्रदेशका आठै जिल्लाबाट सयौं विद्यालय सञ्चालकहरूको सहभागिता रहेको थियो।
प्रदर्शनकारीहरूले हालको विधेयकले निजी शैक्षिक संस्थाहरूको अस्तित्वमा नै प्रश्न उठाउने भन्दै कडा आपत्ति जनाएका छन्। उनीहरूका अनुसार, विधेयकका केही प्रावधानले निजी विद्यालयहरूलाई बन्द गर्न बाध्य पार्ने खालका छन्, जसले शैक्षिक क्षेत्रमा गम्भीर संकट निम्त्याउनेछ।
प्रदर्शनको नेतृत्व प्याब्सन मधेश प्रदेशका अध्यक्ष गणेश साहले गरेका थिए। पर्सा जिल्लाबाट उल्लेख्य उपस्थिति देखिएको प्रदर्शनमा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, एन–प्याब्सनका सल्लाहकार प्रेम यादव र हिसानका अध्यक्ष मुकेश गुप्तासहितका पदाधिकारीहरू सहभागी थिए।
प्रदर्शनकारीहरूले विधेयक तत्काल परिमार्जन गर्न माग गर्दै विद्यालयहरूको दिगोपन, शिक्षक–कर्मचारीको अधिकार र शैक्षिक गुणस्तर सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। उनीहरूले विधेयक संशोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन्।












