२१ मंसिर, काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावित निजी निवासको डिजाइनप्रति कडा व्यंग्य गरेका छन्।
केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्य मात्रै बस्ने परिवारका लागि ‘बिलासी प्रकृतिको’ निवासको नक्सा तयार पारिएको भन्दै मन्त्री पुनले त्यसको डिजाइन गर्ने इञ्जिनियरलाई कारबाही हुनुपर्ने माग राखेका छन्।
फेसबुकमा लेखेको व्यंग्य
सामाजिक सञ्जाल फेसबुकमा ‘एकछिन रमाइलो’ भन्दै शिक्षामन्त्री पुनले व्यंग्यात्मक टिप्पणी लेखेका छन्।
“यो नक्सा डिजाइन गर्ने इञ्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ । अनि घोर बेइजती तथा मानहानीको मुद्दा लगाउनु पर्छ भन्ने मेरो भाग छ । हाकिमले २ जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाइदिनु हुन्छ त उसले । कहाँसम्मको लापरवाही हो यो ?”
नयाँ निवास ‘ओली कुटी’ को शिलान्यास
गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा बालकोटस्थित ओली निवासमा आगजनी भएपछि भक्तपुरको गुण्डुमा नयाँ निवास निर्माण कार्य सुरु गरिएको हो।
-
‘ओली कुटी‘ नाम दिइएको यो भवनको शिलान्यास मंसिर १८ गते ओली पत्नी राधिकाले गरेकी थिइन्।
-
बालकोट निवासमा क्षति पुगेपछि ओली हाल भक्तपुरको गुण्डुमै भाडाको घरमा बस्दै आएका छन्।
-
नयाँ भवन करिब एक रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको हो। एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार यो जग्गा गुण्डुवासीले उपलब्ध गराएका हुन्।
-
प्रस्तावित नयाँ भवनमा बैठक कक्षहरू, पुस्तकालय, ग्रीनहाउस र कौसीखेती गर्ने सुविधा समेत रहने जनाइएको छ।
शिक्षामन्त्री पुनको यो व्यंग्यले ओलीको प्रस्तावित ‘ओली कुटी’ निवासको डिजाइनमाथि राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।













