Trending

वीरगञ्ज–पथलैया करिडोरमा २५ करोडको कलम उद्योग

890Views
0 Shares

६ पुस काठमाण्डाै 

वीरगञ्जका व्यवसायी मनोज मरोडिया स्टेशनरी व्यवसाय गर्थे । उनले बिक्री गर्ने कलम भारत तथा तेस्रो मुलुकबाट आउँथ्यो । भारतीय कम्पनीले हरेक दुई–दुई महिनामा मूल्य बढाउँथ्यो ।

भन्सार तिरेर ल्याउँदा लागत बढी पर्ने, भन्सार छलेर ल्याउनेहरुले जहिल्यै सस्तोमा बेच्ने । १६ वर्ष उनले नेपाली कलम बजारलाई नियाले, विद्यार्थीले प्रयोग गर्ने कलम र सरकारी कार्यालयमा प्रयोग हुने कलमको तथ्यांक केलाए । भारतीय कम्पनीहरुले गर्ने कारोबारलाई पनि नियाले । वार्षिक ३० करोड पेन नेपालमा खपत हुने उनले पत्ता लगाए ।

त्यसपछि उनलाई लाग्यो, यो बजार त ठीकै छ । किन नेपालमै स्वदेशी कलम उद्योग नखोल्ने ? स्टार लाइनले राम्रै व्यापार गरेको उनले देखेका थिए । स्वदेशमै कलम उद्योग स्थापना गर्ने उद्देश्यले उनले दुई वर्ष अघिबाट काम सुरु गरे । अहिले उनको योजनाले साकार रुप लिंदैछ ।

उनले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा उद्योग स्थापना गरिसकेका छन् –विणा शक्ति पेपर एण्ड स्टेशनरी प्रोडक्ट उद्योग । बाराको परवानीपुर गाउँपालिका– ४ चैनपुरमा उद्योग छ ।

उद्योगमा जापानिज प्रविधिका तीन वटा मेसिन जडान भइसकेको छ । त्यस्ता मेसिन १० वटा जडान गर्ने लक्ष्य छ । तीन तलाको भवन तथा मेसिनमा गरेर २५ करोड रुपैयाँ लगानी गरिसकेको सञ्चालक मरोडियाको दावी छ ।

थप मेसिन ल्याउन र अन्य काम सम्पन्न गर्दा लागत ४० करोड रुपैयाँ पुग्ने अनुमान उनको छ । ‘८५ प्रतिशत काम सम्पन्न हुँदा २५ करोड रुपैयाँ खर्च भएको छ’, उनले भने, ‘योजना अनुसार पूर्ण क्षमतामा सञ्चालनमा ल्याउँदा लागत ४० करोड पुग्छ होला ।’

अढाइ कट्ठा जमिनमा स्थापना गरिएको उद्योगले १०० देखि १२५ जनासम्मलाई रोजगारी दिने सञ्चालक मरोडिया बताउँछन् । ‘फ्रेन्ज’ ब्रान्डमा उत्पादन हुने उद्योगले बलपेन र जेलपेन गरी १६ प्रकारका कलम उत्पादन गर्नेछ । माघदेखि बजारमा कलम पुग्नेगरी काम भइरहेको सञ्चालकको भनाइ छ । कलमसँगै उद्योगले ६ प्रकारको इरेजर, २ प्रकारको सार्पनर, २ प्रकारको स्केल र मार्करसँगै स्टेशनरी सामग्रीको पनि उत्पादन गर्ने लक्ष्य राखेको छ ।

उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएपछि कलम आयातमा प्रतिस्थापन गर्न सक्ने विश्वास लिएको मरोडियाले बताए । ‘न्यूनतम ५ रुपैयाँदेखि ५० रुपैयाँसम्मको कलम हामी उत्पादन गर्छौ, इन्क र नोजल टिप्स मात्रै यहाँ बन्दैन, अरु सबै सामान हामी नै बनाउँछौं’, उनले भने, ‘सुरुमा बजारमा जाँदा अप्ठेरो त हुन्छ नै, तर गुणस्तरमा ध्यान दिएका छौं, एक पटक हातमा जान्छ भने घुमाएर हेर्छन् ।’

इन्क र नोजल टिप्स बाहेकका सामान उद्योगमै बन्नेछ । ती दुईथरी सामान भारत, जापान, कोरिया र जर्मनीबाट मगाउने उनको भनाइ छ । प्लाष्टिकको दाना भने भारत तथा दुबईबाट मगाइरहेको उनले बताए ।

नाम चलेका भारतीय ब्रान्ड सेलो, लिंक, फ्लेयर, हाउजर, मोन्टेक्स जस्ता कम्पनीले दिने गुणस्तर आफ्नो कम्पनीले दिने उनको दावी छ । त्यसका लागि उनले भारतीय कम्पनीकै प्राविधिक टिम झिकाएका छन् ।

नेपालमा खपत हुने ३० प्रतिशत कलम अवैधानिक बाटो हुँदै भित्रिने गरेको व्यवसायीहरू दावी गर्छन् । अझ भारतसँग सीमा जोडिएको तराई क्षेत्रमा ८० प्रतिशत कलम भन्सार छलीकै हुने गरेको उनीहरु बताउँछन् ।

उच्चस्तरीय जापानिज प्रविधिको स्वचालित मेसिन जडान गरिएको उद्योगले २४ घण्टामा ३ देखि ४ लाखसम्म कलम उत्पादन गर्ने सञ्चालकको भनाइ छ । वार्षिक ९ करोड थान कलम बेच्ने र ४० देखि ५० करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ । कलमको सेल्फ लाइफ २ वर्ष राखिएको छ ।

कलममा नेपाल आत्मनिर्भर छैन । आयात गरेर नै बजारमा पठाउने गरिएको छ । नेपाली बजारमा हुने कलमको मागको ४० प्रतिशत हिस्सा ओगट्ने योजना सहित उत्पादन सुरु गरिएको उद्योग सञ्चालक मरोडिया बताउँछन् ।

सरकारले साथ दिएको खण्डमा आफ्नो लक्ष्य पूरा हुने उनले बताए । ‘कच्चा पदार्थ प्लाष्टिकको दानामा १० प्रतिशत भन्सार तिनुपर्छ, तयारी पेन ल्याउँदा १५ प्रतिशत भन्सार लाग्छ’, उनले भने, ‘सरकारले कच्चा पदार्थ र तयारी सामानबीचको भन्सार शुल्कमा कम्तीमा १० प्रतिशतको अन्तर राखिदिनुपर्छ । त्यसो गर्दा आयत निरुत्साहित हुन्छ र स्वदेशी उत्पादनमूलक उद्योगले बजारमा प्रतिस्पर्धा गर्न सक्छन् ।’

सीमा क्षेत्रबाट हुने कलमको चोरी तस्करीलाई पनि राज्यले नियन्त्रण गरेर सघाउनुपर्ने उनको भनाइ छ ।

‘नेपालमा कलमको बजार ठूलो छ, बजारको माग अनुसारकै सामान हामी दिंदैछौं’, उनले भने, ‘स्वदेशी उद्योगलाई सरकारको सहयोग भने आवश्यक पर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय