काठमाडौं, १८ जेठ
काठमाडौं, सप्तरी, चितवन, धनकुटा, रुपन्देही र मकवानपुरमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ छहारीस्थित सडकमा बा.३ ख ५४३३ नम्बरको बसमा बा.८४ प ५५६० नम्बरको स्कुटर मंगलबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्कुटरमा सवार सोही ठाउँ बस्ने ३२ वर्षीया पुसी शेर्पा रेहकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरीको कंचनरुप नगरपालिका–१२ रुपनगर चोकमा प्र.२–०३–००१ख ८२५ नम्बरको बसको ठक्करबाट मंगलबार एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुने पैदलयात्री हाल नाम, थर, वतन खुलेको छैन ।
धनकुटाको धनकुटा नगरपालिका–६ स्थित सडकमा मे.६ प १७५६ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–६ डेरा गरी बस्ने संखुवासभा खाँदवारी नगरपालिका–१० घर भएका २४ वर्षीय पुरन राई रहेका छन् ।












