काठमाण्डाै पुस १३
वाग्मती प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको चुनाव आज हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार संसदीय दलको नेताका लागि प्रदेशसभामा नुवाकोटका बहादुर सिं लामा र मकवानपुरका इन्द्रबहादुर बानियाँबीच प्रतिस्पर्धा हुँदैछ ।
दुवै जना उम्मेदवारले प्रदेशसभामा रहेको संसदीय दलको कार्यालयमा उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेस वाग्मती प्रदेश सभापतिसमेत रहनुभएका बानियाँको उम्मेदवारी दर्ताका लागि संसद प्रभात तामाङ प्रस्तावक तथा छिरिङ दोर्जे लामा समर्थक रहनुभएको छ ।
त्यसैगरि लामाको प्रस्तावक कुन्दनराज काफ्ले र समर्थक उर्मिला नेपाल, तिर्थबहादुर लामा, रमेशकुमार महत र रामकृष्ण चित्रकार रहनुभएको छ । संसदीय दलको नेता चयनका लागि कांग्रेस वाग्मती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन गरि चुनावी कार्यक्रम सञ्चालन गरिएको छ । लामा र बानियाँ दुवै पार्टी सभापति शेरबहादुर देउवा निकट मानिनुहुन्छ ।












