Image

मौलापुरमा छैठौं मधानी महोत्सव आयोजना हुँदै।

मौलापुरमा छैठौं मधानी महोत्सव आयोजना हुँदै
रौतहट, माघ २२ । रौतहटको मौलापुर नगरपालिका–५ पतौरा स्थित यसवर्ष पनि मधानी महोत्सव आयोजना हुने भएको छ ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले महाशिवरात्रीको अवसरमा बर्षेणी आयोजना गर्दै आएको मधानी महोत्सव २०८१ यस वर्ष पनि आयोजना हुन लागेको नगरपालिकाले जनाएको छ ।
मौलापुर नगरपालिकाले मंगलवार पतौरा स्थित पुरातात्विक महादेव मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरी मधानी महोत्सव बारे जानकारी दिएको छ । नगरपालिकाले पत्रकार सम्मेलन मार्फत मधानी महायज्ञ विशेष समारोह आयोजनामा हुने कार्यक्रम सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले यसवर्ष फागुन ११ गतेदेखि फागुन १५ गतेसम्म पाँच दिन पुरातात्विक महादेव मन्दिर पतौरमा छैटौं मधानी महोत्सव आयोजना हुन लागेको जानकारी दिएका छन् ।

महायज्ञको अवसरमा भगवान शिवको विशेष पुजा अनुष्ठान, मेला, सांस्कृतिक कार्यक्रम तथा कुस्ती प्रतियोगिता लगायतको कार्यक्रम हुने प्रशासकीय अधिकृत साहले बताए ।

ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुन लागेको महोत्सव फागुन ११ गते शुभारम्भ भई फागुन १५ गते समापन हुने उनले बताए ।

महोत्सवमा नेपाली तथा विदेशि लोकप्रिय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
फागुन ११ गते शिव पार्थिव पुजन, महाहवन तथा मधानी महोत्सवको समुदघाटन हुने बताइएको छ । त्यस्तै फागुन १२ गते दिउँसो शिव बारात यात्रा, १३ गते मधानी बिशेष पुजा एवं समारोह आयोजना, १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रम र १५ गते अन्तर्राष्ट्रीय दंगल (कुस्ती) प्रतियोगिता आयोजना हुने छ । फागुन ११ गतेदेखी फागुन १५ गते रातीसम्म स्थानीय नाचको व्यवस्था गरिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहलवानहरु कुस्तीमा सहभागी हुन आउने आयोजकले जनाएको छ । फागुन १३ गते आयोजना हुने मधानी विशेष समारोहको प्रमुख अतिथिको रुपमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह आउँदै छन् ।
यो वर्षको मधानी महोत्सवमा आफ्ना सांस्कृतिक प्रस्तुती दिन फागुन १४ गते सांसद समेत रहेका भारतिय भोजपुरी एवं हिन्दी सिनेमा जगतका सुपर स्टार अभिनेता रविकिसन, भारतका पूर्व मन्त्री एवं सुप्रसिद्ध गायक एवं गीतकार बिनय विहारी र भारतीय सुप्रसिद्ध गायक तथा अभिनेता रितेश पाण्डे आउन लागेको आयोजकले जनाएको छ ।

त्यस्तै भारतका अन्य कलाकारहरुमा मिंटुवा, भाइरल कलाकार मोनालिसाका साथै नेपाली कलाकारहरुमा सुप्रसिद्ध गायक सुनिल पंडित, गायिका अनु चौधरी, सदाम हुसेन, रचना सिवाकोटी, रुद्र नारायण तिवारी, प्रिया सुहानी, रोसनी राज, सरिता साह, अर्जून बीसी, मनीषा राई सहित स्थानीय कलाकारहरु पनि सांगीतिक प्रस्तुती दिन आउने छन् ।
त्यस्तै सोही दिन भारतीय भोजपुरी अभिनेता तथा चर्चित कमेडिएन मनि मेराज, गायक चाँद अली लगाएतका कलाकारलाई पनि बोलाउन कुराकानी भइरहेको र चाडै उनिहरुको पनि नाम सार्वजनिक गरिने तयारी भइरहेको पत्रकार सम्मेलनमा सहभागी कलाकार विजय यादव निर्विजले जानकारी दएका छन । त्यस्तै यस वर्षको मधानी महोत्सवलाई अझ विशेष बनाउन क्रिकेट प्रतियोगिताको पनि आयोजना गरिने र त्यसमा भारतीय खेलाडी सुर्य कुमार यादवलाई पनि बोलाउन नगरपालिकाले पहल गरिरहेको बताउँदै यादवले सम्भवत खेलाडी यादव पनि आउन सक्ने बताए ।

उत्खन्नको क्रममा २०७६ सालमा मौलापुर नगरपालिका वडा नं. ५ पतौरामा हजारौ वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्व बोकेको कर्नाटकालीन शिव मन्दिर फेला परेको थियो । हजारौ वर्ष पुरानो पुरातात्विक शिव मन्दिर फेला परेपछि मौलापुर नगरपालिकाले त्यस मन्दिरलाई संरक्षण गर्दै सोही वर्षदेखी प्रत्येक वर्ष मधानी महोत्सवको आयोजना गर्दै आएको छ ।
फेला परेको कर्नाट्कालिन पतौरा महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सुचिकृत गराउन तथा मधानी महायज्ञलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्यका साथ नगरपालिकाले २०७६ सालदेखी प्रत्येक वर्ष मन्दिर परिसरमा मधानी महोत्सवको आयोजना गर्दै आएको छ ।

२०७६ सालमा महाशिवरात्रीको दिन पतौरामा पहिलो मधानी महायज्ञको आयोजना गरिएको थियो । मौलापुर पतौरामा पुर्वमन्त्री एवं आम जनता पार्टीका अध्यक्ष प्रभु साहको विशेष पहलमा नगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकाहरुको सहभागितामा २०७६ सालदेखी निरन्तर मधानी महायज्ञ हुँदै आएको छ ।
पत्रकार सम्मेलनमा उपस्थित मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना देवी साहले पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा पुर्याउन आफू निरन्तर प्रयत्नरत रहेको बताइन । नगरपालिकाबाट ८० लाख रुपैयाँ खर्च गरि यो महोत्सव आयोजना गर्न लागिएको नगर प्रमुख साहले बताइन ।

मधानी महोत्सवले मौलिक संस्कृतिको संवर्धन हुने, पर्यटकीय विकास हुने तथा व्यापार प्रवर्धन हुने विश्वास रहेको नगर प्रमुख साहको भनाइ छ । यस मन्दिर र क्षेत्रको विकासका लागि नगरपालिकाले वार्षिक लाखौं खर्च गर्ने गरेको भएपनि प्रदेश र केन्द्र सरकारले केहि पनि सहयोग नगर्ने गरेको भन्दै नगर प्रमुख साहले दुखेसो गरिन ।
महोत्सवमा सहभागी हुन भारत र नेपालका विभिन्न स्थानबाट लाखौको संख्यामा आउने गरेको दर्शक तथा भक्तजनबाट यहाँको ब्यापार व्यवसाय बढ्ने गरेको पालिकाको दाबी छ । महोत्सवले मौलापुर नगरको समग्र बिकाशमा समेत ठुलो टेवा पुर्याउने गरेको पालिकाले जनाएको हो । मधानी महोत्सवका कारण पिछडिएको उक्त ठाउँ एक समृद्ध र सुन्दर सहरको रुपमा विकसित हुँदै गइरहेको नगरपालिकाको बुझाई छ ।

पाँच दिनसम्म चल्ने महोत्सवमा करिब ८ लाख भन्दा बढी दर्शक आउने नगरपालिकाको दावी छ । पुरातात्विक महादेव मन्दिरको प्रचार प्रसारको साथै पर्यटकीय गतिविधि बढाउनको लागि मौलापुर नगरपालिकाले २०७६ मा सम्माननीय राष्ट्रपति विद्यादेवी भन्डारीको प्रमुख आतिथ्यमा मधानी महोत्सवको सुरुआत गरेको थियो ।

Related Posts

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni १ दिन अगाडि

Bridal Couture Runway 2026 : नेपाली फेसनमा संस्कृति, आध्यात्मिकता र Couture को भव्य संगम

काठमाडौं — नेपाली फेसन जगतमा नयाँ इतिहास रच्ने लक्ष्यसहित ‘Bridal Couture Runway 2026 – Edition 3’ आयोजना हुने…

ByByanjana soni ३ दिन अगाडि

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ४ दिन अगाडि

सुदुर पश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

आज प्रदेश सभाबाट विश्वासको नवनियुक्त मुख्य मन्त्री भट्टले विश्वासका मत पाएका हुन्। मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान…

ByByanjana soni ५ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *