Trending

बुबाको चिया पसललाई चारतारे होटल बनाउने एउटा कर्मठ छोराको कथा

155Views
0 Shares

बिशाल बस्नेत

महोत्तरी, २८  असोज । नरहरि  गौतमले सुरु गरेको सानो चिया पसलबाट जीविकोपार्जन होला कि नहोला भन्ने विषयमा उनका छोरा हिरा गौतम आफैँलाई विश्वास थिएन । करिब चार दशकअघि  बसमा यात्रारत यात्रुहरुलाई खाना खुवाउने, चिया पकाउने जस्ता काम गर्दागर्दै उनी आफैँलाई अनौठो लाग्थ्यो । बुबाले व्यापार नै जिन्दगीको सबथोक भएको सुनाएपछि हिराले जिन्दगीको परीक्षण होटलबाट नै प्रारम्भ गर्ने निधो गरे ।

 

त्यसपछि २०५२ सालबाट सुरु भएको गौतमको होटल व्यवसायको यात्रा बुबा नरहरिले भनेजस्तो जिन्दगीको सबथोक मात्र बनेन गौतम होटल पहिचान र प्रतिष्ठाको राष्ट्रिय ब्राण्ड नै बन्यो ।

 

हुन त  हरेक सफलताको पछाडि असफलता, संघर्ष, आत्मविश्वास, निराशा र धैर्यताको कथा हुन्छ ।

 

गौतमको अहिले धनुषाको लालगढस्थित करिब ५० करोड लगानीमा खुल्दै गरेको चारतारे होटलसम्मको यात्रामा आइपुग्दा यस्तै अनेकौँ कथाहरुले भरिपूर्ण छन्  ।

 

निराशा र अनेकाँै असफलताका बाबजुत पनि निरन्तर संघर्ष र धैर्यताले  सफलताको शिखरमा पु¥याएको उनको अनुभव छ  । त्यसैले त उनले बुझेको जिन्दगी के हो भने सफलताको लडाईंमा संघर्ष र धैर्यता नै मुख्य अस्त्र हुन् ।

 

४४ वर्ष अगाडि बुबा नरहरिले संचालन गरेको सोही होटल संचालनको अभिभारा काँधमा बोकेर नयाँपनको खोजीमा दौडेका हिराले चारतारे होटलसम्म आइपुग्दा असंख्य अफ्ठ्यारा चुनौतीहरुको अनुभव संगालेका छन् ।

 

यही अनुभवले बनाएको परिपक्वता नै गौतम होटल राष्ट्रिय ब्राण्ड बन्यो भने  चारतारे होटलको रुपमा लालगढमा अर्को विशाल गौतम होटलको जन्म  भयो ।

 

सामान्य  चिया, नास्ता बेच्ने होटल देशको नै ब्राण्ड बन्ला भन्ने बुबा स्वयंले  परिकल्पना गरेका थिएनन् । ‘छोरा यति धेरै दत्तचित्त भएर लाग्ला र होटलबाट नै आफ्नो भविष्य बनाउला भन्ने सोचेको नै थिइनँ,’ बुबा नरहरिले भने, ‘मासिक मुस्किलले ५ हजार आम्दानी हुने होटलमा अहिले दैनिक नै लाखौँ आम्दानी हुन्छ ।’

 

गौतम होटलको चर्चा बर्दिवासको चिनारीसँग मात्र जोडिएको छैन होटलभित्रको हस्पिटालिटी र गुणस्तरीयताले बाह्य र आन्तरिक पर्यटकको आकर्षणलाई ध्यानाकर्षणसमेत गराएको छ ।

 

मधेश प्रदेशका महत्वपूर्ण कार्यक्रमदेखि भीआईपीहरुको रोजाई गौतम होटल नै बन्नुले पनि हिराको मेहनत र सफलतालाई संकेत गर्दछ । ‘हाम्रो होटलमा देशका शीर्षनेतादेखि पूर्व राजासम्म बास बसेका छन्,’ हिराले भने, ‘हाम्रो लागि यो पनि गौरव हो ।’

 

होटल व्यवसायले हिरालाई यसरी सिखरमा पु¥यायो कि विगतमा यसरी गर्न पाएको भए थप काम गर्न सकिन्थ्यो कि भन्ने गुनासो गर्ने ठाउँ नै रहेन, जस कारण उनलाई सधैँभरि नयाँ गर्न नै हौस्यायो ।

 

यसैको परिणाम स्वरूप नै चियानास्ता बेचेर सामान्य जीविकोपार्जन हुँदै आएको होटललाई ब्राण्ड बनाउनु र सुविधा सम्पन्न शाखाहरु विस्तार गर्नु आफँैमा अनुकरणीय छ ।

 

७ सय रुपैयाँबाट बुबा नरहरिले खोलेको होटललाई अर्बैं रुपैयाँको चारतारे होटल बनाउन हिराले गरेको अथक प्रयास, संघर्ष र मेहनतले होटलमात्र हैन बर्दिवासमा अहिले समग्र गौतम परिवार नै ब्रान्ड बनेको छ ।

 

सामाजिक कार्यमा आफूलाई उत्तिकै सक्रिय बनाएका हिरा नगर पर्यटन बोर्डको अध्यक्ष हुन् भने होटल तथा पर्यटन व्यवसायी मधेश प्रदेशका अध्यक्ष पनि हुन् ।

 

होटल हवको रुपमा विकास भइरहेको मधेश प्रदेश विशेषगरि बर्दिवासमा मात्र ५० भन्दा बढी ठूलो लगानीमा खुलेका होटलहरु छन् ।

के–के विशेषता छन् चारतारे होटलको ?

धनुषाको लालगढमा उदघाटनको तयारीमा रहेको चारतारे गौतम होटलमा अहिलेसम्म ३५ करोडभन्दा बढी खर्च गरिसकेको हिरा बताउँछन् । उनका अनुसार करिब ५० करोड लागत अनुमान गरिएको छ ।

 

७६ वटा कोठा,  हल, मनोरञ्जनस्थल र चारतारे होटललाई चाहिने सम्पूर्ण मापदण्डमा आधारित भएर निर्माण भइरहेको उनले बताए । होटेललाई हरितमैत्री बनाउन कलकत्तावाट ल्याइएका उच्च अक्सिजन दिने बिरुवा रोपिएको छ । करिब एक बिघा क्षेत्रफलमा निर्माण भएको संरचनामा धेरैजसो हरितमैत्री बनाउने प्रयास गरिएको छ ।

 

दशैँपछि लगत्तै ४०  वटा कोठासहित उद्घाटन गरिने र  बाँकी अर्को भवनमा रहेको ३६  वटा कोठा सम्पन्न भएपछि पूर्ण संचालनमा ल्याइने होटलका व्यवस्थापक निरज सुवेदीले जानकारी दिए ।

 

छोराको कर्मप्रति गर्व छ :  नरहरि गौतम

होटेल व्यवसायमा छोरा हिराको कर्म र लगनशीलताप्रति आफूलाई गौरवान्वित हुने बुबा हरि गौतम बताउँछन् । ‘मैले छोराप्रती गौरव गर्ने धेरै कारण छन्,’ उनले भने ‘पहिले त उ इमान्दार बन्यो ।’

 

३४ बर्ष अगाडि चिया पसलमा बसेर सहयोग गरेको सम्झँदै नरहरिले छोराले आफूले चलाएको होटललाई यति ठुलो बनाउला भन्ने सोचेका नै थिएनन् ।

 

‘ठूला–ठूला होटलमा जान्थ्यो । त्यतिवेला अलि पैसा पनि खर्च ग¥यो,’ विगत सम्झदैँ उनले भने, ‘मैले पछि पो थाहा पाएँ, त्यहाँ जानुको उद्देश्य होटल कसरी चलाउने भन्ने सिक्न पो रहेछ ।’

 

नरहरि पुराना राजनीतिज्ञ पनि हुन् । २०३९ साल, २०४३ सालमा तत्कालिन बर्दिवास–३ को उनी वडा अध्यक्ष समेत बने ।

२०५२ सालमा छोरा हिराले गौतम होटल नाम राखेर औपचारिक रुपमा चलाएपछि नरहरिले सन्तुष्टिको श्वास फेरेको बताउँछन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
26°
Clear
5:27 am7:01 pm +0545
Feels like: 27°C
Wind: 5km/h E
Humidity: 58%
Pressure: 1007.79mbar
UV index: 0
4 am5 am6 am7 am8 am
25°C
25°C
26°C
29°C
32°C
FriSatSunMonTue
43°C / 26°C
43°C / 28°C
42°C / 28°C
42°C / 28°C
40°C / 28°C

प्रिय न्युज


लोकप्रिय