बारा यातायात कार्यालयमा जेन–जी युवाको प्रदर्शन, लिखित तथा ट्रायल प्रमुख जीवन पौडेलमाथि कालोमोसो
By Birgunj
३ महिना अगाडि
Comments: 0
बारा – बारा जिल्ला यातायात व्यवस्था कार्यालय परिसरमा आज बिहान करिब ११:३० बजे तनावपूर्ण अवस्था सिर्जना भएको छ। आफूलाई ‘जेन–जी’ युवा भनेर चिनाउने समूहले कार्यालयका लिखित तथा ट्रायल प्रमुख जीवन पौडेलमाथि कालोमोसो प्रहार गर्दै प्रदर्शन गरेका हुन्।
प्रदर्शनकारी युवाहरूले लिखित परीक्षा र ट्रायल प्रक्रियामा अनियमितता, आर्थिक चलखेल, फर्जी काम तथा सेटिङमार्फत पास–फेल गराउने कार्य भइरहेको आरोप लगाएका छन्। पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुधार नआएको भन्दै विरोधस्वरूप कालोमोसो गरिएको उनीहरूको भनाइ छ। घटनास्थलमा युवाहरूले “पैसामुखी प्रवृत्ति अन्त्य हुनुपर्छ” भन्दै नाराबाजीसमेत गरेका थिए।
स्थानीय सेवाग्राहीहरूका अनुसार पछिल्लो समय बारा यातायात कार्यालय सेवाभन्दा बढी विवाद, गुनासो र असन्तुष्टिले घेरिएको छ। लिखित परीक्षा, ट्रायल तथा लाइसेन्स प्रक्रियामा दलाली र मिलेमतो हुने गरेको आरोप निरन्तर उठ्दै आएको छ। हालै सम्पन्न लिखित परीक्षामा उत्तरपुस्तिकामा चिन्ह लगाइएको घटनाले कार्यालयको विश्वसनीयतामाथि थप प्रश्न उठाएको सेवाग्राहीहरूको गुनासो छ।
सेवाग्राही तथा स्थानीय स्रोतहरूले लिखित तथा ट्रायल प्रमुख जीवन पौडेल नै अधिकांश निर्णयको केन्द्रमा रहेको दाबी गर्दै आएका छन्। औपचारिक प्रमुख कमै देखिने र दैनिक प्रशासनिक तथा लाइसेन्ससम्बन्धी प्रक्रियामा पौडेलकै प्रभाव रहने गरेको आरोप पनि लगाइएको छ।
घटनापछि केही समय कार्यालय परिसर तनावग्रस्त बने पनि थप अप्रिय घटना भने भएको छैन। यस विषयमा जिल्ला प्रशासन, प्रदेश सरकार तथा सम्बन्धित निकायबाट औपचारिक प्रतिक्रिया आउन बाँकी रहेको छ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि