• Home
  • राजनीति
  • फराकिलो मतान्तरसहित स्वर्णिम वाग्‍ले विजयी, को हुन् स्वर्णिम वाग्ले ?
Image

फराकिलो मतान्तरसहित स्वर्णिम वाग्‍ले विजयी, को हुन् स्वर्णिम वाग्ले ?


काठमाडौं, बैशाख १२ गते । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा.स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन्।

हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले हराएका हुन्।

वाग्लेले ३४ हजार ४ सय ८० मत ल्याउँदा भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५ सय ५५ मत प्राप्त गरेका छन्।

तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्। आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो। वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गरेका छन्। दोस्रो स्थानमा रहेका भट्टराईले ३० प्रतिशत मत ल्याएका छन् भने खनालको मत प्रतिशत १३ छ।

गत मंसिर ४ को आमनिर्वाचनमा तनहुँ–१ मा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनी राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन गरिएको हो। मंसिरको निर्वाचनमा पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरेर विजयी भएका थिए। त्यति बेला एमालेका एकबहादुर राना मगरले १९ हजार ९ सय ८१, स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए।

वाग्लेले गत चैत १५ गते कांग्रेस छाडेको घोषणा गरेपछि त्यसै दिन राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई तनहुँ–१ बाट उम्मेदवार बनाएको थियो। उनले कांग्रेस छाड्दा सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणाका कारण पार्टी छाड्नुपरेको गुनासो पोखेका थिए।

को हुन् स्वर्णिम वाग्ले ?
गोरखामा जन्मेका वाग्लेले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। उनले स्नातक तहको अध्ययन बिएस्सी (इकोनोमिक्स) लन्डन स्कुल अफ इकोनोमिक्सबाट गरेका थिए भने विद्यालय स्तरको पढाइ काठमाडौंको बुढानिलकन्ठ स्कुलबाट पूरा गरेका थिए।

कांग्रेस राजनीतिमा रहँदा उनलाई सुशील कोइरालाको प्रधानमन्त्री कालमा अमेरिकाबाट बोलाएर राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरिएको थियो। नेपाल फर्किनुअघि उनी विश्व बैंकको वासिङ्टनस्थित मुख्यालयमा वरिष्ठ अर्थशास्त्रीका रूपमा कार्यरत थिए। उनले युएनडिपीको वरिष्ठ अर्थशास्त्रीका रूपमा मुख्यालय न्यूयोर्क, भियतनामको राजधानी हनोइ र श्रीलंकाको राजधानी कोलम्बोमा रहेर पनि काम गरिसकेका छन्।

पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनी दोस्रोपटक योजना आयोगको सदस्य बने भने अघिल्लोचोटि शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा वाग्लेले योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए।

२०७२ को भुइँचालोपछि वाग्लेकै अगुवाइमा विपतपश्चातको आवश्यकता आकलन ९पिडिएनए० तयार गरिएको थियो। यसै आधारमा नेपालले पुनर्स्थापना र पुनर्निर्माणका लागि चार अर्ब अमेरिकी डलर बराबरको विकास सहायता जुटाएको थियो। उक्त सहायता जुटाउन आफूले महत्वपूर्ण काम गरेको वाग्लेले बताउँदै आएका छन्।

कांग्रेसको तेह्रौं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि देउवाले वाग्लेलाई महासमिति सदस्यमा मनोनीत गरेका थिए। २०७० र २०७४ को आमनिर्वाचन तथा २०७९ वैशाखमा भएको स्थानीय तह र मंसिरमा भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन क्रममा उनी पार्टीको घोषणपत्र तयार पार्न संलग्न थिए।

अन्तर्राष्ट्रिय छवि कमाएका वाग्ले अन्तर्राष्ट्रिय निकायको उच्च ओहोदामा बसेर पाएको सुविधा छाडेर राजनीतिमा सक्रिय हुन आएका थिए। आफ्नो अपेक्षाविपरीत कांग्रेसले टिकटबाट वञ्चित गरेपछि उनी विकल्पको खोजीमा स्वतन्त्र पार्टीसँग आबद्ध भएका हुन्।

उनी २०७८ असारमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को एसिया तथा प्रशान्त क्षेत्रीय ब्युरोमा प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गर्न गएका थिए। त्यति बेला कांग्रेसका विभिन्न नेतासँग सल्लाह गरेर उनीहरूकै सुझावअनुसार युएनडिपीमा काम गर्न गएको वाग्लेले बताउँदै आएका छन्। नेपालमा चुनाव लड्ने अपेक्षा राखेर उनी २०७९ असारमा फर्किएका थिए।

दक्षिण एसियाली थिंक ट्यांक सर्वांगीण विकास अध्ययन केन्द्र (आइआइडिएस)को अध्यक्षसमेत रहेका वाग्लेले काठमाडौं विश्वविद्यालयको सिनेटमा र अन्य गैरनाफामूलक संस्थाको सल्लाहकार रहेर काम गरेका छन्। उनी विश्व बैंकको दक्षिण एसिया ‘च्याम्पियनिङ एन्ड भिजनिङ प्रोसेस’ का विशिष्ट सदस्यसमेत हुन्।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni ३ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *