वीरगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले शुक्रबार अन्तरस्कुल आर्ट तथा ह्यान्डराइटिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।
पर्सा जिल्लाका प्याब्सनसँग आबद्ध ३५ वटा निजी विद्यालयका ४०० भन्दा बढी विद्यार्थीहरू प्रतियोगितामा सहभागी हुने भएका छन् । प्रतियोगिता वीरगञ्जस्थित राणीसती मन्दिर धर्मशालामा बिहान १० बजेदेखि सुरु हुने प्याब्सन पर्साका सचिव अशोक सङ्ग्रौलाले जानकारी दिए ।
विद्यार्थीहरूमा कलात्मक सीपको विकास गर्दै राम्रो हस्तलेखनको महत्त्वबारे सचेत गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सङ्ग्रौलाले बताए । उनले भने, “आजको डिजिटल युगमा पनि राम्रो हस्तलेखनको आफ्नै महत्त्व छ । यसले विद्यार्थीहरूको एकाग्रता र रचनात्मकता बढाउँछ । प्रतियोगिताले विद्यार्थीहरूमा लुकेको कलात्मक प्रतिभा उजागर गर्न मद्दत गर्नेछ ।”
प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन तथा समन्वयको जिम्मेवारी प्याब्सन पर्साका वरिष्ठ सदस्य तथा मुनलाइट स्कुलका संस्थापक सुशील केसीलाई दिइएको छ । केसीका अनुसार प्रतियोगिता समूहगत रूपमा सञ्चालन गरिने छ ।
आर्टतर्फ नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई ६ समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने छ भने ह्यान्डराइटिङतर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूलाई ४ समूहमा राखिएको छ ।
निष्पक्ष तथा तटस्थ मूल्याङ्कन सुनिश्चित गर्न काठमाडौँबाट विशेष निर्णायक मण्डल बोलाइएको केसीले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा समूहलाई मेडल, शिल्ड, प्रमाणपत्रलगायत आकर्षक पुरस्कार प्रदान गरिने छ ।
यस प्रतियोगिताले पर्सा जिल्लाका निजी विद्यालयहरूबिच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् ।












