पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर पुष्टि, शल्यक्रिया सफल
भ्याटिकन सिटी, २८ असोज । पोप लियो चौधौंलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएपछि उनको शल्यक्रिया सफल भएको भ्याटिकनले जनाएको छ।
भ्याटिकनद्वारा जारी स्वास्थ्यसम्बन्धी विज्ञप्तिअनुसार पोप लियो चौधौंको दाहिने फोक्सोको तल्लो भाग (लोब) सफलतापूर्वक शल्यक्रिया गरी हटाइएको छ।
७१ वर्षीय पोपको मंगलबार रोमको जेमेली अस्पतालमा ९० मिनेट लामो शल्यक्रिया गरिएको थियो। त्यसपछि उनलाई ‘पल्मोनरी एडिनोकार्सिनोमा’ (फोक्सोको एक प्रकारको क्यान्सर) भएको पत्ता लागेको थियो।
भ्याटिकनले भन्यो, “शल्यक्रिया सफल भयो र कुनै जटिलता देखिएन।” विज्ञप्तिमा थपिएको छ, “शल्यक्रियापछि पोप सामान्य रूपमा होसमा आए र केही समयको निगरानीपछि आफ्नो कोठामा फर्किए।”
भ्याटिकनले “नियमित जाँच” भनिएको प्रक्रियाका क्रममा उक्त गाँठो पहिलो पटक पत्ता लागेको जनाएको छ। पोप करिब एक हप्ता अस्पतालमा रहने अपेक्षा गरिएको छ।
यसअघि अस्पतालबाहिर ठूलो संख्यामा मानिसहरू पोपको प्रतीक्षामा बसेका थिए। उनी त्यहाँबाट गुज्रँदा मानिसहरूले हर्षोल्लासका साथ अभिवादन र शुभकामना व्यक्त गरे भने उनले पनि कारको पछाडिको झ्यालबाट हात हल्लाउँदै र मुस्कुराउँदै प्रतिक्रिया दिए।
त्यसपछि अस्पतालको सिँढीमा कर्मचारीहरूले उनलाई भेटे। तीमध्ये एक कर्मचारीले, “मलाई दुःख लाग्यो,” भन्दै सहानुभूति प्रकट गरे, जसको जवाफमा पोपले मुस्कानसहित काँध उचालेर सामान्य भाव व्यक्त गरे। उनलाई, “हामी यहाँ तपाईंकै लागि छौं,” भन्दै आश्वस्त पारियो।
भ्याटिकनले आफ्नो विज्ञप्तिमा जनाएअनुसार, “उपचार प्रक्रिया पूर्ण र प्रभावकारी (रेडिकल) होस् भन्ने सुनिश्चित गर्न” पोपको दाहिने फोक्सोको तल्लो भाग पूरै हटाइएको हो।
भ्याटिकनका एक स्रोतले एजेन्स फ्रान्स-प्रेस (एएफपी) समाचार संस्थालाई बताएअनुसार क्यान्सर शरीरका अन्य भागमा फैलिएको छ कि छैन भनेर पत्ता लगाउन थप परीक्षणहरू भइरहेका छन्।
पोप लियो चौधौंले आइतबार सेन्ट पिटर स्क्वायरको बार्दलीबाट परम्परागत ‘एन्जेलस’ आशीर्वाद दिएपछि आफैंले आफ्नो शल्यक्रियाको खबर विश्वलाई सुनाएका थिए। उनले आफ्नो फोक्सोमा देखिएको गाँठो वा मासुको डल्लो “सीमित” अवस्थामा रहेको र “धेरै प्रारम्भिक चरणमा” पत्ता लागेको बताए, तर चिकित्सकहरूले त्यसलाई हटाउन सुझाव दिएका थिए।
पोप लियो चौधौंले रोममा आफ्नो साप्ताहिक आइतबारको प्रार्थनाका क्रममा शल्यक्रियाको घोषणा गरेका थिए। जेमेली अस्पतालको छातीसम्बन्धी शल्यक्रिया टोलीले पोपको शल्यक्रिया गरेको हो। स्वास्थ्यलाभका लागि समय दिन उनको अक्टोबर २० सम्मको सम्पूर्ण कार्यतालिका रद्द गरिएको छ।
फोक्सोमा देखिने यस्ता गाँठाहरू सामान्य हुन् र ती सधैं क्यान्सरजन्य नै हुन्छन् भन्ने छैन। तर परीक्षणपछि चिकित्सा टोलीले त्यो ‘पल्मोनरी एडिनोकार्सिनोमा’ भएको पुष्टि गर्यो, जुन “शल्यक्रियापूर्वको परीक्षणमा शंका गरिएको” कुरा थियो भनी भ्याटिकनले जनाएको छ।
भ्याटिकनले जोड दिँदै भनेको छ कि सामान्यतया स्वस्थ मानिने पोपमा संक्रमण वा बिरामीको कुनै लक्षण देखिएको थिएन।
टोकियोका कार्डिनल किकुची टार्सिसियो इसाओले सामाजिक सञ्जालमा लेखेअनुसार उनले सोमबार पोप लियोसँग भेट गरेका थिए र पोपले शारीरिक रूपमा “कुनै समस्या” महसुस नगरेको बताएका थिए।
उनले बताएअनुसार पोपले सकेसम्म चाँडो शल्यक्रिया गराउने निर्णय गरेका थिए, किनकि उनी नोभेम्बरको सुरुमा ल्याटिन अमेरिकाको भ्रमणमा जाने तालिकामा थिए र सोही योजनाअनुसार अघि बढ्न चाहन्थे। यो भ्रमण विशेष रूपमा महत्त्वपूर्ण छ, किनभने यसमा पेरुको भ्रमण पनि समावेश छ, जहाँ उनी लामो समयसम्म मिसनरी र त्यसपछि बिशपका रूपमा कार्यरत थिए।
१३ अक्टोबर २०२६ मा इटालीको रोमस्थित अगस्टिनो जेमेली अस्पतालबाहिर ननहरूले पोप लियो चौधौंको तस्बिर प्रदर्शन गरेका थिए। पोपको शल्यक्रिया गरिएको अस्पतालबाहिर भेला भएकाहरूमा ननहरू पनि थिए।
सबै प्रकारका आश्वस्त पार्ने भनाइहरूका बाबजुद यस समाचारले विश्वभरका क्याथोलिकहरूलाई स्तब्ध बनाएको छ। भ्याटिकनका विदेशमन्त्री (सेक्रेटरी अफ स्टेट) कार्डिनल पारोलिनले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै भने, “के म चिन्तित छु? हो, किनभने मैले पक्कै पनि यस्तो कुराको अपेक्षा गरेको थिइनँ।”
उनले यो समाचार “आकाशबाट खसेको बज्रपात” (अकल्पनीय घटना) जस्तै भएको स्वीकार गरे, तर कार्डिनलहरू पोपको “शान्त भाव” देखेर प्रभावित भएको र उनको स्वास्थ्यलाभप्रति विश्वस्त रहेको बताए।
जेमेली अस्पतालबाहिर, जहाँ धेरै पोपहरूको उपचार गरिएको छ र जहाँ जोन पल द्वितीयको ठूलो प्रतिमा राखिएको छ, पोप भर्ना भएपछि पनि केही क्याथोलिकहरू त्यहाँ बसिरहेका थिए। कार्ला उहाँको नजिक रहने इच्छाले विशेष रूपमा त्यहाँ आएकी थिइन्।















