Image

 चोरीका कारण सडकमा आइपुगेका व्यवसायी

विशाल बस्नेत
महोत्तरी, २२ असार । सुन पसल खोल्दा रत्नेश साहले गाउँ–घरमा २५ लाख ऋण लिएको धेरै भएको छैन । लगानी ठूलो गर्ने र मुनाफा पनि सोहीअनुसार गर्ने उद्देश्यले साहले एनआईसी एसिया बैंकबाट पनि थप लाख ऋण लिए । सोही पैसा लगानी गरेर खोलेको सुन पसलमा चोरी भएपछि उनी घर न घाटको भएका छन् ।

बर्दिबासको मुख्य बजारमा सटर भाडामा लिएर व्यापार गर्दै आएका रत्नेश साहले सोचेजस्तै व्यापार गरिरहेका थिए । बैंकको किस्ता, गाउँ–घरबाट मासिक ३ प्रतिशतमा ल्याएको ब्याज, घर कर्जा र घर व्यवहार चलाउन साहलाई पुगेकै थियो । साहले खोलेको ‘न्यु साइ ज्वेलर्स’ घर परिवारको सहारा मात्र थिएन, भविष्यको दरिलो भरोसा समेत रहेको उनको ठानेका थिए । तर,  १० असारको विहान पसल आइपुग्दा साहको सपना चकनाचुर भयो । 
साह पसल भित्र छिर्दा सुन राखिएको टेजरी बाकस त्यहाँ थिएन ।  लाखौ रुपैयाँमा अर्डर गरेर राखिएका गरगहनाहरु थिएनन्, चाँदी राखेको ठाउँमा थिएन, करिब २५ तोला सुन चोरी भएको थियो ।

साहले केहीबेर केही सोच्न नै सकेनन् । पसलभित्र राखिएको सिसिटीभी हेरेपछि थाहा पाए, पसलका सबै गरगहना र पैसा चोरी भएको । ‘सिसिटिभी फुटेजमा देखिएअनुसार केही मानिसहरु पसलमा आए ।  सुन चोरी गरेर बर्दिबासको पश्चिमतर्फबाट गए,’ साहले भने,  ‘पछि थाहा पाएँ, बर्दिबासकै अर्को सुन पसल पनि चोरी भएको रहेछ ।’

साहले दिएको विवरणअनुसार प्रहरीले करिब ३७ लाख ३६ हजार बराबरको चोरी भएको निष्कर्ष निकाल्यो । घटना भएको ३ दिन पछि प्रहरीले सुन चोरी गरेको आरोपमा तीनजना शंकास्पद व्यक्तिहरुलाई पक्राउ पनि ग¥यो । तर, सुन राखेको टेजरी प्रहरीले फेला पा¥यो, तर सुन अझै पत्ता लगाउन सकेको छैन् ।

पसल चोरी भएपछि साहलाई थप पीडा थपिएको छ । छोराछोरीको विद्यालयलाई बुझाउनुपर्ने शुल्क बुझाउन सकेका छैनन् । असार मसान्तसम्म तिर्नै पर्ने बैंकको किस्ता तिर्न सकेका छैनन् । साहुबाट लिएको ऋण चोरी भएको थाहा पाएपछि घरमा नै आएर पैसा दिनुपर्ने भन्दै घेर्न थालेका छन् ।

साहको दुःख देख्न नसकेपछि बिहीहवार चेम्बर अफ कमर्स महोत्तरीले ५० हजार सहयोग गरेको छ । महोत्तरी चेम्बर अफ कमर्सका अध्यक्ष सुधिर अग्रवालले साहलाई ५० हजार बरारबरको चेक हस्तान्तरण गरेका थिए । चेक देखाउँदै साहले भने, ‘केही आधारभुत समस्या उहाँहरुको सहयोगले सावधान हुने भएको छ ।’

रत्नेशको जस्तै पीडा श्री हरि ज्वेलर्स सुन चाँदी पसलका सञ्चालक चन्दन साहको पनि छ । प्रहरीले पक्राउ गरेका व्यक्तिहरुले हरि ज्वेलर्सबाट खासै सामानहरु लैजान नपाएको प्रहरीलाई बयान दिए पनि प्रहरीको बनाएको मुचुल्कामा १५ लाख २० हजार बराबरको सुनचाँदी हराएको उल्लेख छ ।

प्रहरीले १५ असारमा बाराको निजगढबाट चोरीमा सग्लन भएको आरोपमा  रौतहट  फतुवा विजयपुर नगरपालिका–११ बस्ने अर्जुन चौधरी  र सोही वडाका  गाडी सञ्चालक साविर देवानलाई पक्राउ गरेको थियो   ।उनीहरुले नै दिएको बयानका आधारमा सुन राख्ने फलामको सेफ (भल्ट) रौतहटको  गुजरा नगरपालिका–२ अन्तर्गत चोचा जंगलमा जमिनमुनि गाडीएको अवस्थामा बरामद भयो । तर, सुन अझै फेला परेको छैन ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी दिलीप गिरीका अनुसार चोरीमा सग्लन अन्य तीनजना अझै फरार छन् ।  उनीहरुलाइ पनि छिट्टै पक्राउ गरी हराएको सुन बरामद गर्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । सिसिटिभी फुटेजमा देखिएको र चोरीमा प्रयोग गरेको भारतीय नम्बर प्लेटको दुईवटा बोलेरोलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता स्थानीय व्यापारीहरुले बर्दिबासमा श्रृंखलाबद्ध चोरी हुन थालेपछि स्थानीय सरकार र सुरक्षा निकायको जिम्मेवारीलाई लिएर प्रश्न उठाइरहेका छन् । उद्योग वाणिज्य संघको नेतृत्वमा व्यापारीहरुले केही दिन अगाडि शान्ति सुरक्षाको माग गर्दै प्रदर्शन नै गरेका थिए ।
 

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ५ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ५ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ७ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *