खानेपानी मन्त्री चौधरी र पूर्व सभासद यादव सहित क्षेत्रीय सभापति निलम्बन
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं-२८ भदौ
नेपाली कांग्रेसका केन्द्रीय सह-महामन्त्री एवम् खानेपानी मन्त्री उमाकान्त चौधरी निलम्बनमा परेका छन् ।
मन्त्री चौधरी सहित पूर्व सभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादव समेत निलम्बनमा परेका छन ।
नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराले मन्त्री चौधरी सहित यादवद्वयलाई निलम्बन गरेको हो ।
स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन अन्तर्घात गरेको उजुरीको आधारमा सहमहामन्त्री एवम् खानेपानी मन्त्री चौधरी, पूर्व सभासद यादव र क्षेत्रीय सभापति यादवलाई जिल्ला अनुशासन समितिको बैठकको निर्णय अनुसार साधारण सदस्य नरहने गरि निलम्बन गरिएको नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराका संयोजक अरूण कुमार यादवले बताए ।
नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (ख) बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरि मन्त्री चौधरी र यादवद्वयलाई निलम्बन गरिएको संयोजक यादवले बताए ।
संयोजक यादवको अनुसार मन्त्री चौधरीले नेपाली कांग्रेसका सिम्रौनगढ नगरपालिकाको मेयर पदका उम्मेदवार विजयशंकर यादव विरूद्ध लागि लोसपाका उम्मेदवारको पक्षमा मत दिलाउन लगाएको, पुर्व सभासद यादव र क्षेत्रीय सभापति यादवले महागढीमाई नगरपालिकाका उम्मेदवार उपेन्द्र प्रसाद यादवको विरूद्धमा लागि जसपाका उम्मेदवारको क्याम्पमै गएर मत मांगेको र मत दिलाउन लगाएकाले पार्टीको साधारण सदस्य समेत नरहने गरि निलम्बन गरिएको बताए ।

४ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि