काठमाडौ, भदौ २० गते। खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गते देखि निष्काशन गरेको आईपीओ आज बिहान बाँडफाँट गरेको छ। लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको थियो । उक्त कम्पनीको आईपीओमा कूल १८ लाख ८३ हजार १ सय १८ जनाको आवेदन परेकोमा १ लाख ४४ जनाको आवेदन रद्द भएको थियो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय, कमलादीमा आज बिहान १० बजे आईपीओ बाँडफाँट गरिएको हो ।सर्वसाधारणका लागि छुट्याएको १ लाख २३ हजार ४ सय कित्ता आईपीओ १२ हजार ३ सय ४० जनाले मात्रै १०–१० कित्ताका दरले पाएका छन् । कम्पनीले प्रतिशेयर १०० रुपियाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपियाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको थियो ।
कूल निष्काशन मध्ये २ हजार कित्ता कर्मचारीहरूका लागि र ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो । हाल कम्पनीको चुक्ता पूँजी २ करोड ६८ लाख रुपियाँ छ । आईपीओ बाँडफाँटपछि लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपियाँ पुगेको छ ।
लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/ र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ र कम्पनीको वेबसाइट khaptadmfi.com.np बाट रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।












