• Home
  • कर्णाली प्रदेश
  • कर्णालीका सांसदको आफन्त मोह, स्वकीयमा ज्वाइँदेखि छोरासम्मलाई नियुक्ति
Image

कर्णालीका सांसदको आफन्त मोह, स्वकीयमा ज्वाइँदेखि छोरासम्मलाई नियुक्ति

कर्णालीका अधिकांश सांसदले स्वकीय सचिवमा आफन्तलाई दिए नियुक्ति

शेरबहादुर थापा/न्यूज कारखाना

सुर्खेत, २८ असोज । कर्णाली प्रदेश सभामा रहेका २९ जना सभामुखसहितका सांसदले स्वकीय सचिव नियुक्त गर्दा केहीबाहेक अधिकांशले आफन्तलाई भर्ती गरेका छन्। तीन जनाले भने हालसम्म स्वकीय सचिव नियुक्त गरेका छैनन्।

तत्कालीन जेनजी विद्रोहपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले एक परिपत्र जारी गर्दै सांसदहरूको स्वकीय सुविधा खारेज गरेसँगै कर्णाली प्रदेश सभाले पनि ती सबै सांसदको स्वकीय सुविधा खारेज गरेको थियो।

झण्डै एक वर्षपछि कर्णाली प्रदेश सरकारले निर्णय गर्दै सुब्बासरहको स्वकीय सुविधा प्रदेश सभामा रहेका सभामुखसहितका सांसदलाई उपलब्ध गराउने निर्णय गरेको थियो।

पूर्व भौतिक पूर्वाधार एवम् सहरी विकास राज्यमन्त्री गमता विकले आफ्नै ज्वाइँलाई पुनः स्वकीय सचिवमा नियुक्त गरेकी छन्। उनका ज्वाइँको नाम दानबहादुर विक हो।

पूर्व आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले आफ्नै श्रीमती निर्मला केसीलाई नियुक्ति दिँदा पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले सजना शर्मालाई नियुक्त गरेका छन्।

यस्तै, नेपाली कांग्रेसका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले आफ्नै छोरा अशोक विष्टलाई नियुक्त गरेका छन् भने पूर्व आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रकाशवावु सिंहलाई नियुक्त गरेका छन्।

पूर्वमन्त्री उर्मिला विश्वकर्माले मनिता विश्वकर्मालाई नियुक्त गर्दा इन्द्राकुमारी शाहीले दीपेन्द्र शाहीलाई नियुक्त गरेकी छन्। पूर्वमन्त्री दुर्गबहादुर रावतले जीवन रावतलाई स्वकीय सचिवमा नियुक्त गर्दा देवेन्द्रबहादुर शाहीले वर्णध्वज शाहीलाई नियुक्त गरेका छन्।

दक्षिणा शाहीले भुवन शाही र पूर्णबहादुर खत्रीले राजन केसीलाई नियुक्त गर्दा वीरबहादुर शाहीले जितबम ठकुरीलाई नियुक्त गरेका छन्। पूर्वमन्त्री विनोदकुमार शाहले सुमित्रा शाहीलाई नियुक्त गर्दा पूर्वमन्त्री सुरेश अधिकारीले मोहन शर्मालाई छनोट गरेका छन्।

यस्तै, राप्रपा सांसद सन्तोषी शाहीले सुजिता सिंहलाई रोज्दा राजीवविक्रम शाहले ललित बस्नेतलाई स्वकीय सचिव बनाएका छन्। कांग्रेस सांसद लक्ष्मी सुनारले धनसरा राना, पूर्वमन्त्री विजया बुढाले नवराज भण्डारी, शेरबहादुर बुढाले पदम बुढा र पूर्वमन्त्री विन्दमान विष्टले पदमबहादुर गुरुङलाई नियुक्त गरेका छन्। पूर्वमन्त्री खड्कबहादुर पोखरेलले सञ्जय पोखरेललाई नियुक्त गरेका छन्।

पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले राजबहादुर रोकायालाई नै निरन्तरता दिएका छन् भने पूर्वमुख्यमन्त्री यामलाल कँडेलले यसकुमार चपाईलाई निरन्तरता दिएका छन्। जानकी सिंहले तेजबहादुर विसिलाई छनोट गर्दा पूर्वमन्त्री कृष्णकुमार विसिले महेन्द्र सापकोटालाई नियुक्त गरेका छन्।

पूर्वमन्त्री घनश्याम भण्डारीले खगेन्द्रबहादुर खड्का र सभामुख नन्दा गुरुङले गंगाराम तिमिल्सेनालाई नियुक्त गरेका छन्। प्रदेश सभामा पूर्वमुख्यमन्त्री राजकुमार शर्माको पद रिक्त भइसकेको छ। यद्यपि, उनले कृष्णबहादुर रोकायालाई नै नियुक्त गरेका थिए।

कर्णाली प्रदेश सभाका उपसभामुख यशोधा न्यौपाने, पूर्वमन्त्री कृष्णबहादुर जिसी र सांसद बलिमाया बुढाले भने स्वकीय सचिव नियुक्त नगरेको प्रदेश सभाका सूचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिएका छन्।

‘कर्णाली प्रदेश सरकारले प्रदेश सभालाई स्वकीय नियुक्ति दिन भनेर पत्र पठाएको थियो। सोही आधारमा हामीले स्वकीय नियुक्त गर्न सांसदहरूलाई खबर गरेका थियौँ,’ उनले भने, ‘तीन जना सांसदले हालसम्म नियुक्ति गरेका छैनन्। उहाँहरूले पनि नियुक्त गर्नुहुन्छ होला।’

Related Posts

कांग्रेसको दलिततर्फ सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही अगाडि

काठमाडौं, २८ असाेज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको मतगणनामा सहमहामन्त्रीमा प्रकाश रसाईली स्नेही, दलित महिला केन्द्रीय सदस्यमा…

ByByanjana soni १४ घण्टा अगाडि

सुदूरपश्चिमका एमाले सांसद थापाले पदबाट राजीनामा

धनगढी, २८ असोज । पूर्वमन्त्रीसमेत रहेका एमाले सांसद वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेश सांसद थापाले…

ByByanjana soni १८ घण्टा अगाडि

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र शिवाकोटी विजयी

काठमाडौं, २७ असोज । नेपाली कांग्रेसको खुलातर्फको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन् । पार्टी…

ByByanjana soni १ दिन अगाडि

महामन्त्रीमा चुनाव हारेपछि नैनसिंह महरले भने- कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, अभियान जारी रहन्छ

काठमाडौं, २६ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार नेता नैनसिंह महरले पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण…

ByByanjana soni २ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *