वीरगंज – राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन एन–प्याब्सन वीरगंज समितिको आयोजनामा संगठनको २८औँ राष्ट्रिय स्थापना दिवसको अवसरमा आज घण्टाघर, वीरगंजमा भव्य रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका अध्यक्ष एन–प्याब्सन वीरगंजका अध्यक्ष जियालाल गुप्ता रहनुभएको थियो भने प्रमुख अतिथिका रूपमा संगठनका केन्द्रीय संस्थापक सदस्य तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामबिनय चौरसिया उपस्थित रहनुभएको थियो। कार्यक्रमको समन्वय सचिव शेख अजहर तथा कोषाध्यक्ष प्रमोद साहले गर्नुभएको थियो।

समाजसेवा र मानवीय उत्तरदायित्वलाई आत्मसात गर्दै आयोजित कार्यक्रममा कुल ७० जनाले रक्तदान गरेका थिए। रक्तदातामध्ये ६३ जना पुरुष र ७ जना महिला रहेका थिए।
कार्यक्रममा सनी दुबे, राकेश यादव, दीपक तुल्स्यान, शौकत अली, हरिन्द्र कुशवाहा, राजेन्द्र आचार्य, श्रीनारायण साह, सोनालाल पटेललगायत विभिन्न विद्यालयका निर्देशक तथा शिक्षाविद्हरूको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामबिनय चौरसियाले एन–प्याब्सनले शिक्षा क्षेत्रसँगै समाजसेवामा पनि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै रक्तदानजस्ता कार्यक्रमले मानव जीवन जोगाउन महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। अध्यक्ष जियालाल गुप्ताले रक्तदान जस्तो पवित्र कार्यमा सहभागी सम्पूर्ण रक्तदाताहरू, सहयोगी संस्था तथा स्वयंसेवकहरूप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने सबै सहभागी, स्वयंसेवक तथा सम्बन्धित संघ–संस्थाप्रति आयोजक समितिले आभार व्यक्त गरेको छ।












