काठमाडौं । फागुन २२ गते
नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै तिक्तता नरहेको नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बताउनु भएको छ । नेपाली कांग्रेस विराटनगर महानगरपालिका कार्यसमितिद्वारा आयोजित वर्तमान अवस्थामा नेपाली कांग्रेसको भूमिका विषयक बृहत् सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा एउटा कुरा र सत्तामा जाँदा अर्को कुरा गर्ने पार्टी नभइ कठिन परिस्थितिमा बनेको गठबन्धन सरकार चलाउनलाई मात्र भएको जिकिर गर्नु भएको थियो ।

उहाँले सिद्धान्त र विचार नमिल्ने कम्युनिष्टसँग तालमेल गरेर नेपाली कांग्रेस चुनावमा नजाने भन्दै कांग्रेस निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने जिकिर गर्नु भएको थियो । कोइरालाले कांग्रेस विधि मान्ने र न्याय गर्ने पार्टी भएकाले पार्टीमा सबैको सम्मानजनक स्थान हुनुपर्छ भन्दै पार्टी पारदर्शी, उत्तरदायी र जवाफदेही हुनुपर्नेमा जोड दिनु भएको थियो ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भावनात्मक एकता र व्यवहारले मात्र राष्ट्रवाद बलियो हुने भन्दै जनता विभाजित गरेर राष्ट्रवाद हुन नसक्ने तर्क गर्नु भएको थियो । उहाँले लोकसेवा उत्तीर्ण गर्ने राष्ट्रसेवक कर्मचारी र जनताबाट उत्तीर्ण भएको जनप्रतिनिधिले भ्रष्टाचारलाई रोक्नुपर्ने विचार व्यक्त गर्नु भएको थियो ।












